
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपाका नेताहरुले पुष्टि गरेका छन् ।
उनले अनुशासन आयोगको उपप्रमुखबाट राजीनामा दिएपनि पार्टीबाट राजिनामा नदिएको नेताहरुले दाबी गरेका छन् । तर, उनको सामाजिक सञ्जालमा व्यक्त विचारहरुले भने उनी रास्वपा राजनीतिबाटै टाढा रहने निर्णय लिएजस्तो देखिन्छ ।
हिजो उनले सामाजिक सञ्जाल फेसबुकमा परिस्थितीले राजनीतिक अवस्था निकै जटिल भएको उल्लेख गरेका थिए ।
उनले लेखेका छन्, “परिस्थितिले राजनीतिक अवस्था अत्यन्तै अप्ठ्यारो अवस्थामा पुर्याएको छ,तर लाग्छ शिशिर पछी वसन्त आउने प्राकृतिक विज्ञानको नियम हो। यो अवस्थामा अन्य बैकल्पिक राजनैतिक समुह र शक्तिहरु एक ठाउँमा उभिनु पर्छ । आज अरुलाई बाघले आक्रमण गर्दा सबै मिलेर नधपाउने हो भने भोलि तपाईंहरुलाई समेत त्यो बाघले छोड्ने छैन । राणा फ्याक्न दरबार, प्रजापरिषद, काङ्ग्रेस एक ठाउँमा भएकाले सफल भएको थियो पन्चायत फ्याक्न काङ्ग्रेस, कम्युनिस्ट एक ठाउँ उभिनु परेको थियो, राजा फ्याक्न सात दल प्लस माओवादी एक ठाउँ उभिनु परेको थियो, आज वैकल्पिक राजनीतिक शक्ति भर्सेस पुरातन राजनीतिकको अघोषित युद्धको सुरुवात हुदैछ वैकल्पिक राजनीतिक शक्तिको विजय खोज्ने हो भने बालेन, हर्क, गोपि, सिके, रेशम जस्ता शक्तिहरु एक ठाउँमा उभिएर वैकल्पिक राजनीतिक शक्ति को संरक्षण गरौ यो नै नेपाल र नेपाली को भाग्य र भबिस्य निर्धारण गर्ने कोसे ढुङ्गा साबित हुनेछ।
चेतना भया।।। जय देश”
उनले नयाँ राजनीतिक शक्ति एक हुनुपर्ने भनेर लेखेको पोस्टमा बालेन हर्क गोपी लगायतको नाम लिएपनि रास्वपा र रविको नाम नलिनुले उनले रास्वापबाटै अलग हुने निर्णय लिएको बुझिन्छ ।
कानुन व्यवसायी न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन् । अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए ।
देवकोटा अमेरिकामा रहेको बेला तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट न्यौपानेले स्पष्टीकरण सोधेका थिए ।
मुकुल अहिले रास्वपाबाट अलग भएर बालेन गोपी मिल्नुपर्ने मत दिइरहेका छन् । न्यौपाने पनि त्यहि लाइनमा उभिएका छन् । बालेनले राजनीतिक दल खोल्ने घोषणा गरेमा रास्वपाबाट ठूलो संख्यामा नेता कार्यकर्ता बालेनसँग जोडिने सम्भावना बढेको छ ।
प्रतिक्रिया दिनुहोस्