
काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले उपमेयरलाई कार्यबाह नदिएर बफू निकट वडा अध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् ।
कात्तिक १ गते बेलायत जान लागेका साम्पाङले उपमेयर हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई असोज २८ गतेदेखि कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।
अइन्द्रविक्रम बेघा धरानको उपमेयर छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित हुन् । उपमेयरसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएको बुझिएको छ ।
मेयर साम्पाङ कात्तिक १७ गते बेलायतबाट नेपाल फर्कने छन् । उनले आफू नफर्किउन्जेलसम्मका लागि भन्दै २३ असोजमा वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाएर असोज २८ गतेदेखि कार्यबाहकका रुपमा कामकाज गर्नेगरी जिम्मेवारी दिएका हुन् ।
उनले वडाध्यक्षलाई कामको जिम्मेवारी पनि बुँदागत रुपमा तोकेरै पत्र दिएका छन् ।
उनले वडा अध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिंदा आर्थिक सहयोग एक दिनको ५ हजार रुपैयाँमात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्ने, रेडबुकका कुनै बजेटका योजनाहरु स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने सर्तसहितको जिम्मेवारी दिइका छन् ।
के छ कानूनी व्यवस्था ?
सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्वन्धी आदेश ०७४ जारी गरेको
छ । जसमा पालिकाको प्रमुख वा अध्यक्ष ३ दिनभन्दा बढी समयको लागि बाहिर जानुपर्दा उपप्रुमख वा उपमेयरलाई कार्यबाहक दिनुपर्ने स्पष्ट व्यवस्था छ । तर मेयर हर्क सामपाङले भने कानुन भन्दा बाहिर गएर कार्यबाहकको जिम्मेवारी वडा अध्यक्षलाई दिइका छन् ।
यसमा उपमेयरले मुद्दा दर्ता गरेको खण्डमा मेयरको निर्णय खारेज हुन सक्ने कानून व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्