
फाइल तस्वीर
काठमाडौँ । बडादसैँमा सुनसान हुने काठमाडौँ उपत्यका यो वर्ष भने शान्त रहन सकेन । विगतको तुलनामा चहलपहल निकै बढी देखिएको छ ।
फूलपातीदेखि नै सुनसान हुने काठमाडौँका सडकहरू यो वर्ष भने हरेक दिन ट्राफिक चोकमा जाम हुने गरी भरीभराउ देखिएका छन् ।
असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढी पहिरोले उपत्यकाबाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौँ छाड्नेहरूको सङ्ख्यामा कमी आउँदा यस्तो चहलपहल बढेको जनाइएको छ ।
चहलपहलका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन पनि विगतको भन्दा बढी गुडेको देखिन्छन् । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।
बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रु मात्र राजधानी बाहिर गएका हुन् । यातायात व्यवसायीहरूले पनि यसवर्ष २० लाख मानिसले काठमाडौँ छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् ।
करीब ७ लाख मानिसहरुले काठमाडौं उपत्यका नछोडेपछि सडक र बजार क्षेत्रमा चहलपहल बढेको हो । विगतमा ५ दिनसम्म बन्द रहने पसलहरुसमेत यो वर्ष दसैंको टीकाको दिन बाहेक प्राय खुल्ला रहेका छन् ।
उपत्यकासँग सिमा जोडिएका जिल्लाबाट हिजोदेखि र अन्य जिल्लाबाट आजदेखि मानिसहरु काठमाडौं फर्किन सुरु भइसकेको छ । विद्यार्थी बाहेक कामकाजी मानिसहरु उपत्यका प्रवेश गर्न सुरु गरिसकेकाले आजदेखि चहलपहल थप बढ्ने छ ।
भोली मंगलवारदेखि सरकारी कार्यालय खुल्ला हुनेभएकाले काठमाडौं उपत्यका सम्भवत भोलिदेखि नै पुन: जगमगाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्