images
images
  • भारतीय सीमा बजारमा धमाधम विक्री हुँदै कर्णालीका स्याउ, ‘भारतीय नागरिकको रोजाइमा पनि नेपाली स्याउ’

    सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटक नेपालका मुख्य बजारमा मात्रै नभएर भारतीय सीमाना सम्मै राम्रो बजार पाएको छ । कर्णाली प्रदेशका बजारमा अहिले भारत र चीनमा उत्पादित स्याउको दबदबा केही समयकै लागि भए पनि अन्त्य हुनुका साथै भारतमै पनि नेपाली खपत भइरहेको पाइएको हो ।

    नेपाली सीमावर्ती बजारमा कर्णाली प्रदेशको स्याउ विक्री वितरण हुँदा खुल्ला सीमा भएकाले भारतीय नागरिकले समेत नेपाली स्याउ किनेर खाने गरेको स्थानीय व्यवसायीहरुले बताएका छन् ।

    प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादित स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

    उनले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए ।

    “हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकारवाला निकायलाई अनुरोध गरेका छौँ । यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ”, अध्यक्ष कँडलेलले भने ।

    चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिए । नेपालसँग सिमाना जोडिएका भारतीय भागहरूमा समेत कर्णालीकै स्याउले बजार पाएको उनले बताए ।

    वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० देखि रु दुई ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो रु ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको बताए ।

    दसैँमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेको जाजरकोट नलगाड नगरपालिका–८ का वीरबहादुर खत्रीले बताए । मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको उनले जानकारी दिए । –राससको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्

    images
    images