कपिलवस्तु। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको हत्यामा उनकै श्रीमतीको योजना रहेको खुलेको छ ।
प्रहरीको २५ दिन लामो अनुसन्धानबाट नेता पाण्डेको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको हो । गत जेठ ५ गते अज्ञात समूहले प्रहार गरेको गोली लागि घाइते भएका पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीका अनुसार अनुसन्धानमा दीपकलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार ओमप्रकाश र महिमाको सम्बन्धका विषयमा दीपकले जानकारी पाएपछि उनको हत्या योजना बनेको थियो । एसपी अधिकारीले भने, ‘हत्या योजना २र३ वर्षअघि नै बनेको देखिन्छ । उनीहरुले हतियार खरिद गरेर पेशेवर अपराधीलाई हत्याका लागि बैना रकम दिएको पनि खुलेको छ।’
घटनापछि अनुसन्धानको क्रममा प्रहरीले ओमप्रकाशको साथबाट एक थान पेस्तोल र ६८ राउण्ड गोलीसमेत बरामद गरेको छ । प्रहरीले हत्यामा संग्लन चार र हतियार व्यवस्थापनमा सातजनालाई पक्राउ गरेको छ । एसपी अधिकारीका अनुसार हत्यामा ओमप्रकाश यादव, महिमा पाण्डे, रमजान साह मुसलान, सकिर अलि पखियाको मुख्य भूमिका देखिएको छ ।
उनका अनुसार ओमप्रकाशले हत्याको योजना बनाएको, हतियार खरिद गरेको र आफ्नै उपस्थितिमा मार्न लगाएको खुलेको छ ।


विश्व खबर 



















