काठमाडौं । सत्ताबाट बाहिरिएपछि नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पार्टी एकताको प्रस्ताव राखेका छन् ।
गत असार १७ गते काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सात बुँदे समझदारी पश्चात् प्रधानमन्त्रीको पद गुमाएर सत्ताबाहिर पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई पार्टीभित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाब र पार्टीको नाम र झन्डा समेत फेर्न दबाब बढेपछि अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पार्टी एकताको प्रस्ताव गरेका हुन् ।
। प्रचण्डले माओवादीबाटै छुट्टिएको विप्लव नेतृत्वको नेकपा र एमालेबाट विद्रोह गरेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास गरिरहेका छन् । अध्यक्ष प्रचण्डले सोमबार मात्र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग गोप्य भेटवार्ता गरेपश्चात् पार्टी एकताको कुरा सार्वजनिक भएको माधवकुमार निकट स्रोतले जनाएको छ ।
‘माओवादीमा जनार्दनले फायर खोलेपछि प्रचण्ड पार्टी एकतामा हतारिएर लागेका हुन् । माधवकुमार नेपाल पनि पार्टी जोगाउन एकता गर्नुपर्ने अवस्थामा रहेपनि केही सर्तहरू पुरा भएपछि मात्र उक्त विषयमा निष्कर्षमा पुग्न सकिने स्रोतले जनाएको छ ।
विगतमा पनि माधवकुमार नेपाललाई विभिन्न किसिमका झुट्टा आश्वास देखाउँदै आएका प्रचण्ड अहिले पनि पार्टी एकताका लागि झुट्टो आवश्वासन दिइरहेका छन् । तर माधव नेपाललाई प्रचण्डले विगतमा मरुभूमिमा पारेको तितो यर्थाथ भएपनि उनले खुलेर भन्न सकेका छैन । प्रधानमन्त्री नेतृत्वको सरकार भएका बेला माधवकुमार नेपाललाई प्रधानमन्त्रीको जिम्मेवारी दिने भन्दै माधवलाई दिउँसै अन्धकारमा पारेपछि माधव नेपाल प्रचण्डसँग रिसले चुर भएका थिए ।
अहिले पनि प्रचण्ड सत्ताको राज गर्न नपाएको गुनासो सुनाउँदै आगामी २०८४ को निर्वाचनअघि सरकार परिवर्तन भएको खण्डमा अध्यक्ष नेपाललाई प्रधानमन्त्री दिने तर त्यसका लागि पार्टी एकता गर्नुपर्ने प्रचण्डले नेपाललाई आश्वासन दिएका छन् । अध्यक्ष नेपालले प्रचण्डको प्रस्तावमा अहिले अन्धकारमा पार्टी एकता गर्ने कुनै कल्पना नभएको जवाफ दिएका छन् । पार्टी एकताका विषयमा मोर्चामार्फत छलफललाई अगाडी बढाउन सकिने बताएका छन् । भविष्यको परिस्थिति हेरेर मात्र आफू अगाडी बढ्न सक्ने अध्यक्ष नेपालको भनाइ छ ।
‘अध्यक्ष प्रचण्ड एकीकृत समाजवादी र विप्लवसहितको एकता गर्ने कसरतमा छन् । तर उक्त विषय सजिलो भने छैन । विगतदेखि नै पार्टी एकताको कुरा बारम्बार उठिरहे पनि विभिन्न स्वार्थसँग केन्द्रित रहेकाले पार्टी एकता संभव हुन सकेको छैन । विगतमा अध्यक्ष प्रचण्डले चुनाव हारेको अवस्थामा नेपाललाई प्रधानमन्त्री बनाएको स्मरण गराउँदै प्रचण्ड अहले नेपालसँग पार्टी एकता सम्भव हुन् सक्न विश्वास लिएका छन् । तर उक्त विषय प्रचण्ड र माधव नेपालका लागि चुनौतीको पहाड नै हो ।
संसद्को यो कार्यकालको बाँकी अवधि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । तर उक्त सहमति कार्यान्वयन हुनेमा सभापति देउवा विश्वस्त छन् ।
माओवादी केन्द्रको सोमबारको स्थायी कमिटी बैठक नै रोकेर प्रचण्डसहितका नेता एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । माधवकुमार नेपालसँगको भेटवार्तापछि अध्यक्ष प्रचण्डले मङ्गलवार एकीकृत समाजवादीका एक नेतालाई खुमलटार बोलाएर एकताबारे चासो राखेपछि एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले अध्यक्ष नेपाल र प्रचण्डबिच भेटवार्ता हुनु स्वाभाविक रहेको बताएका छन् ।
उनका अनुसार एकीकृत समाजवादीको ध्यान माओवादी केन्द्रसँग भन्दा पनि एमालेसँग एकता गर्ने रहेको छ । तर विविध विषयमा कुरा मिलेको छैन । नेता पाण्डेले अहिले पार्टी एकता भन्दा पनि मोर्चालाई व्यवस्थित बनाउने विषय महत्त्वपूर्ण रहेको बताए । पाण्डेले अध्यक्ष प्रचण्डले अध्यक्ष नेपाललाई पार्टी एकताको प्रस्ताव र प्रधानमन्त्रीको प्रस्ताव राख्ने बित्तिकै सम्भव नहुने उल्लेख गरे ।
राजनीतिक स्थिरताका लागि दलहरूबिच सहकार्य, कार्यगत एकता र मोर्चालगायतका कुरामा छलफल हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै उनले माओवादी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेसपाको महेन्द्र यादव समूहको समाजवादी मोर्चा कायम रहेकाले मोर्चालाई बलियो बनाउने दिशामा ध्यान केन्द्रित गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।






















