काठमाडौं। १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि देखि सुरु हुने भएको छ।
संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए। सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो।
सिफारिस भएका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवारदेखि सुरु हुने सुनुवाइ समितिले जनाएको छ। बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको शङ्कर हलमा दिउँसो सवा १२ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ।
बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ। सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो।
प्रतिक्रिया दिनुहोस्






















