काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले माघ २१ बाट पदयात्रा गर्ने भएको छ । अलपत्र परेका आयोजना निर्माणमा दबाव दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ । २१ विकास आयोजना, २१ व्यक्ति, २१ गते गरी तिन २१ को संयोजन सहित पदयात्रा प्रारम्भ गर्न लागेको छ । २२ माघबाट संसद बैठक बस्ने भएकाले २१ गते सुरुवात गरेर क्रमशः गर्दै जाने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । २१ गते एउटा मात्रै आयोजनाका लागि दबाव यात्रा हुने उनले बताइन ।
यसअघि केन्द्रीय समिति बैठकले २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । पार्टीबाट गठित कार्यदलले २१ वटा आयोजनामा टुंगो क्रममा छ । ‘कार्यदलले काम गरिरहेको छ । १र२ एउटा टुंगिन बाँकी छ,’ रास्वपा सांसद एवं कार्यदल सदस्य शिशिर खनालले जानकारी दिए ।
संसद बैठक २२ माघबाट आह्वान भएकाले संसद बैठक नबसेको समय मिलाएर क्रमशः आयोजनामा पदयात्रा गर्ने रास्वपाले तयारी गरेको छ । आयोजना छनोट गर्दा सबै प्रदेशबाट पर्ने गरी चयन गर्न लागि लागिएको छ ।
बागमतीका ४ आयोजना, कर्णालीका २ आयोजना र अन्य प्रदेशमा ३र३ हुने गरी विकास आयोजनामा दबाव यात्रा गर्ने कार्यदलमा प्रारम्भिक सहमति बनेको छ । सांसदलाई दबाव यात्रामा खटाउँदा सकेसम्म आफ्नो जिल्लालाई प्राथमिकतामा राखिने कार्यदलले जनाएको छ ।
केन्द्रीय समितिले आयोजना, दबाब यात्राको मोडालिटी, यात्राका लागि नेता चयन लगायतमा कार्य गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलमा सहमहामन्त्री विपिनकुमार आचार्य, सहप्रवक्ता प्रतिभा रावल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र नेताहरू श्रीराम न्यौपाने, कृष्ण भेटुवाल र खुश्बु सरकार श्रेष्ठ छन ।
प्रतिक्रिया दिनुहोस्