दैलेख। राउटे समुदायका पूर्व मुखिया (महामुखिया) महिनबहादुर शाहीको निधन भएको छ। दैलेखको भैरवी गाउँपालिका–३ छामघाटमा आइतबार बिहान उनको निधन भएको हो।
सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले पाँच महिना ढाड दुख्ने बिरामीका कारण थला परेका उनको बिहान मृत्यु भएको जानकारी दिए बिहान ३ बजेतिर मृत्यु भएका उनकाे राउटे समुदायले आफ्नो परम्पराअनुसार अन्तिम दाहसंस्कार गरेकाे छ।
गुराँस गाउँपालिकाले प्रदान गरेको परिचयपत्रमा उनको जन्म मिति २०१४ भदौ ९ गते रहेको उल्लेख छ। महामुखिया शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही रहेका छन्। महामुखिया शाहीका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो।
नारायणको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । त्यसअघि उनका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो। भैरवी गाउँपालिका –३ कै कोइराला गाउँमा बसेका राउटेहरू ६ दिन अघिमात्र छामघाटमा सरेका थिए।






















