
काठमाडौं-आजदेखि सर्वोच्चसहित सबै तहका अदालतमा दसैँ बिदा सुरु भएको छ। अदालतमा एकैपटक १५ दिनका लागि बिदा गरिएको हो।
सर्वोच्चकाे प्रशासन शाखाले जारी गरेको सूचनामा २८ असोजदेखि ११ कात्तिकसम्म सर्वोच्च अदालत बन्द रहने जनाइएको छ। यद्यपि, यो अवधिमा बन्दीप्रत्यक्षीकरणसहितका निवेदनमा भने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक सुनुवाइ हुने जनाइएको छ।
“बडादसैँ, २०८० को उपलक्ष्यमा २०८० असोज २८ गते घटस्थापनाका दिनदेखि कार्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ।
सर्वोच्चमा २८ हजार एकवटा मुद्दा बाँकी छन्। जसमध्ये १५ हजारभन्दा बढी दुई वर्ष नाघेका छन् भने चार हजार दुई सय ५८ वटा मुद्दा दुई वर्ष पुराना छन् ।
प्रतिक्रिया दिनुहोस्