images
images
  • विदेशको दुःखले बनायो उद्यमी, १२ वर्ष साउदीमा साहुको भेडा चराएका केसी अहिले आफैँ मालिक

    बागलुङ- गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ। दिन प्रतिदिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ।बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएका छन्। उनी पनि एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किएका हुन्।

    उनले भने, ‘जीवनको ऊर्जाशील समय विदेशमा बित्यो। अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्‍न थालेको छ।’

    बिहान उठेदेखि राति नसुतुञ्‍जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ। साउदीमा साहुको भेडा चराउने काम गरेका उनी अहिले आफैँ मालिक बनेका छन्।

    अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको दुःख सुनाउने केसी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन्। स्वदेशै कामको खोजी गरेर पनि नपाएपछि विदेशिएका केसीले अहिले गाउँमा थुप्रै सम्भावना देखेका छन्।

    उनी भन्छन्, ‘पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रसस्त आयआर्जनको स्रोत यही छ।’

    चार वर्षदेखि बाख्रापालनमा लागेका केसी गाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताउँछन्। विभिन्‍न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उनको भनाइ छ।

    ‘पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्‍ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्‍ने लाग्छ,’ उनी भन्छन्, ‘विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्‍न थाल्यो।’

    उनले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन गरेका छन्। स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ बाख्रा छन्।खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब १५ लाख रुपैयाँ लगानी उनले गरेका छन्। अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उनले बताए। एउटा बोकाको २० देखि ३० हजार रुपैयाँसम्म पर्ने उनको भनाइ छ।

    उनले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्‍चालन गरेका छन्। खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या नभएको उनी बताउँछन्।कुनै पनि कामलाई सम्मान गर्नसके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ। उनले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभेंडा खेती सुरु गरेका छन्।
    वडा कार्यालय र गाउँपालिका कार्यालयले ५०र५० हजार रुपैयाँ अनुदानसमेत दिएको जनाउँदै उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसी बताउँछन्। अहिले बाख्राको सङ्ख्या बढाउनेतर्फ ध्यान केन्द्रित गरेको केसीको भनाइ छ। करिब २ सय बाख्रा पाल्ने लक्ष्य रहेको उनी बताउँछन्।

    उनी भन्छन्, ‘विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन, गाउँमा परिवारसँग बस्‍न पाइएको छ, सञ्‍चो बिसञ्‍चो हुँदा तातोपानी तताएर दिने, खाने दिने मान्छे साथमै हुन्छ, विदेशमा कसैले हेर्दैन, अहिलेका युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि सोहीअनुसारको वातावरण तयार गरि दिनुपर्छ, बजारलाई व्यवस्थापन गर्न सके यहाँ धेरै सम्भावना देखेको छु।’ रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images