काठमाडौं- विश्व पर्यटन दिवस बुधबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो ।
नेपालमा पनि ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा आज (बुधबार) ‘पर्यटन र हरित लगानी’ भन्ने नारासहित विभिन्न कार्यक्रम गर्दै विश्व पर्यटन दिवस मनाउन लागिएको छ ।
पर्यटन व्यवसाय आन्दानीको मुख्य स्रोतका रूपमा रहेको छ । विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्याङ्क अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ । पर्यटन क्षेत्रले करिब एघार लाख रोजगारी सिर्जना गरेको सरकारको दाबी छ। पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रकृति, साहसिक र संस्कृतिका आधारमा नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रवर्धन गर्न जरुरी रहेको जनाएका छन् ।
सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ को आठ महिनामा ६ लाख एक हजार ३६० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म छ लाख एक हजार ३६० पर्यटक भित्रिएका हुन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो आठ महिनाको पर्यटक आगमन दर हेर्दा सन् २०२३ मा १० लाख पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।
उनले भने, “पछिल्ला प्रत्येक महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको छ । सम्भावित स्रोत बजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पु¥याउने लक्ष्य पूरा हुने विश्वास गरिएको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।






















