images
images
  • लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष प्रहरी हिरासतमा

    लमजुङ- लमजुङमा डिउटीमा रहेको डाक्टरलाई हातपात तथा कुटपिट गर्ने वडा अध्यक्ष प्रहरी हिरासतमा पुगेका छन् ।

    बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषि बस्नेतलाई प्रहरीले आजै हिरासतमा लिएको हो । उनले लमजुङ जिल्ला अस्पतालका डा. सन्दीप अधिकारीलाई हातपात गरेका थिए ।

    वडा अध्यक्ष बस्नेतलाई सोमबार साँझ लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानका लागी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईंले बताए ।

    वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेका हुन् । डाक्टरसँगको विवादपछि वडाध्यक्षले मुक्का प्रहार गरेको चपाईंले बताए । ‘वडाध्यक्षज्यूले आमालाई उपचारका लागि अस्पताल ल्याएका रहेछन्, उपचारका क्रममा विवाद हुँदा उनले डाक्टरलाई मोबाइलले समेत प्रहार गरेछन् उनले भने, ‘मापसे पनि गरेको र मुक्का पनि प्रहार भएको डाक्टरहरुले बताएका छन् ।’

    घटना मिलाउन बिहानैदेखि छलफल भएको थियो । तर, मिल्न नसकेपछि डाक्टरहरुले अपराह्न ४ बजेमात्र प्रहरीमा जाहेरी दिए । उजुरी नपरेपनि सोमबार दिनभर वडाध्यक्ष बस्नेत भने, प्रहरी नियन्त्रणमै थिए ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले भर्ना प्रोसेस गर्ने क्रममा डाक्टरकै कक्षमा आएर बस्नेतले हातपात गरेको बताए ।

    ‘घटना राति १० बजेको हो । वडा अध्यक्षले मादकपदार्थ पनि सेवन गरेका थिए । भर्ना प्रोसेस गर्ने क्रममा डाक्टरकै कक्षमा हातपात गरे । अस्पतालका साथीहरुले उनलाई रोक्ने प्रयास पनि गरेका थिए । तर, सकेनन् ।’ उनले भने ।

    दिनभरको छलफल विना निष्कर्ष टुङ्गिएपछि आफूहरु कानूनी रुपमै अगाडि बढेको समेत उनले जानकारी दिए ।

    मणिपालका चिकित्सकमाथि पनि हातपात
    बिरामीको मृत्यु भएको विषयमा आफन्तहरुले पोखरास्थित मणिपाल अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन् ।

    सोमबार दिउँसो बिरामीका आफन्तले हातपात गरेपछि अहिले मणिपाल अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएको छ ।

    लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको सोमबार मणिपाल अस्पतालका उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तजनले चिकित्सकमाथि हातपात गरेका हुन् । बिरामीको उपचारमा सहभागी डा. अनिल शाहमाथि आफन्तले हातपात गरेका हुन् ।

    उनीहरुले अस्पतालमा समेत तोडफोड गरेका छन् । अस्पतालमा तनावको स्थिति भएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी अस्पतालमा तैनाथ गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images