दोहा – कुवेतस्थित नेपाली दूतावासको गल्तीका कारण एक नेपाली युवा लामो समयदेखि त्यहाँ जेल जीवन बिताइरहेको तथ्य बाहिरिएको छ।मोरङ बेलबारी नगरपालिका–९ बाहुनीका अरुणकुमार राजवंशीले आफू अनाहकमा जेल जीवन बिताइरहेको भन्दै बाबुआमाका नाममा पत्र लेखेपछि सो तथ्य बाहिरिएको हो ।
उनले तीन महिनादेखि आफूलाई कुवेतको सोइरब भन्ने ठाउँको दुवाराजम सीआईडी पुलिस जेलमा राखिएको पत्रमा उल्लेख गरेका छन् । ट्राभल डकुमेन्ट्स बनाउने क्रममा नेपाली दूतावासले भारतीय नागरिक भनी उल्लेख गरिदिएकाले आफूले समस्या भोग्नुपरिरहेको उनले पत्रमा लेखेका छन् । राजवंशीले आफ्नो समस्यालाई लिएर पटकपटक दूतावाससमक्ष अनुरोध गरेपनि बेवास्ता गर्ने गरेको पनि पत्रमा उल्लेख गरेका छन् ।
उनले ‘आफ्नो सिभिल आईडीको फोटो खिची अन्य कागजात मिलाई कुवेत पुलिसले नेपाल पठाउँछु, सफर जेलमा लग्दा राष्ट्रियता फरक पर्न गई म नेपालीलाई भारतीय नागरिक बनाई दिएकाले नेपाल फर्कन समस्या भएको’ पत्रमा उल्लेख गरेका छन् ।
कुवेत पुलिसले आफूलाई भारतीय नागरिक भन्दै नेपाल फर्कन रोक लगाएपछि कुवेतमा रहेको नेपाली दूतावासमा राष्ट्रियता सच्याई दिन पटकपटक अनुरोध गर्दा पनि नसुनेको र दूतावासका कर्मचारी जेलमै आएको बेलामा भेटेर समस्या सुनाउँदा पनि कुनै सुनवाइ नगरेपछि पत्र लेखेको उनले बताए ।
दूतावासले बेवास्ता गरेपछि पत्रमार्फत घरपरिवारलाई जानकारी गराएपछि उनको परिवारले सो पत्र कुवेतमा रहेका विभिन्न संघसंस्थालाई पठाएपछि दूतावासको गल्ती बाहिरिएको हो । सो पत्र विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदीकहाँ पनि पुगेको थियो ।
अध्यक्ष सुवेदी भन्छन्, ‘मंगलबार बिहान उठ्नासाथ मेसेन्जरमा हातले कोरिएको एउटा पत्र प्राप्त भयो, सुरुमा त खासै चासो दिइनँ, पछि उसले लेखेको मेसेजमा आँखा गयो, पीडितको आफन्त हो या उसको साथी, जसले मबाट हुन सक्ने सहयोगको अपेक्षा माग्नुभएको रहेछ ।’
उनले भने, ‘त्यसपछि चिठीतिर आँखा दौडाउन थालें, अरुणकुमार राजवंशी भन्ने भाइले कुवेतको जेलबाट आफ्ना बुबाआमासँग गुहारका लागि कोरेको पत्र रहेछ । पूरै पढें, त्रुटि हाम्रै नेपाली दूतावासलाई देखाइएको रहेछ । भाइको ट्राभल डकुमेन्ट्स बनाउने क्रममा भारतीय नागरिक भनी उल्लेख गरिएको कारण उसलाई डिपोर्ट जेल पु¥याएपछि कागजातमा त्रुटि भेटिएको भनेर पुनः जेलमै फिर्ता गरिएको रहेछ ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।






















