काठमाडौं- भरतपुर भ्रमण वर्ष २०२४ को पुर्वसन्ध्यामा बृहत् सरसफाइ तथा वृक्षारोपण महाअभियान सुरु गरिने भएको छ । ग्रिन र क्लिन सिटी भरतपुर बनाउन शुक्रबार नारायणी नदि किनारमा भरतपुर महानगरपालिकाको आयोजनामा बृहत् सरसफाइ तथा वृक्षारोपण महाअभियान सुरु गरिने भएको छ ।
महाअभियानको महानगरपालिकाकी मेयर रेणु दाहालले औपचारिक कार्यक्रम मार्फत उद्घाटन गर्ने भएकी छिन । भरतपुरलाई सफा सुन्दर र हरियाली शहरको रुपमा लैजान महाअभियान सुरुवात गरिन लागिएको मेयर दाहालले विश्वखबरलाई बताइन् । ‘हाम्रो दिगो लक्ष्य त्यहि हो, भरतपुरलाई बस्न लायक शहर विकाश गर्न, हरियाली शहर वनाउने, उनले विश्व खबरसँग भनिन्, भरतपुर भ्रमण वर्षको पुर्वसन्ध्यामा बृहत् सरसफाइ तथा वृक्षारोपण महाअभियान निरन्तर जारी रहेन्छ ।’
यो महाअभियानमा जोडिएर साथ दिन भरतपुरवासी सबैमा मेयर दाहालले अपिल गरेकी छिन् ।
भरतपुर महानगरपालिकाले “भरतपुर भ्रमण वर्ष २०२४” अभियान घोषणा गरेको छ ।भरतपुर भ्रमण वर्ष २०२४ मा दुई लाख जना बाह्य पर्यटक भित्रयाउने लक्ष्य लिएको छ । महानगरपालिमाभित्र निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृंखलाको दृश्यावलोकन जस्ता प्राकृतिक आकर्षण तथा संग्रहालय, पार्क, धार्मिकस्थल छन् । महानगरमा पर्यापर्यटन, वन्यजन्तु पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, सभा–सम्मेलनपर्यटन आदिको विकास भइरहेको छ । पर्यटनमा महानगरपालिकालाई प्रमुख ७ गन्तव्य (सेभेन प्वाईन्ट) सहित ३० वटा पर्यटकीय गन्तव्यहरु छनोट गरिएको छ ।






















