काठमाडौं – ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको अनुसन्धान ब्युरो (सिआईबी)ले झन्डै ३५ दिन लगातार अनुसन्धान गरेको थियो ।
उक्त अनुसन्धाबाट हालसम्म ३२ जनालाई पक्राउ गरेको सिआईबीले जनाएको छ । पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ विदेशी नागरिक संलग्न रहेको पाइएको छ ।
त्यसमध्ये अझै १८ जना अझैँ फरार छन् । त्यसमा १४ विदेशी ४ नेपाली रहेका छन् । बुधबार सिआईबीले गरेको पत्रकार सम्मेलनमा सीआइवीका प्रमुख किरण वज्राचार्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का ४२ जनाको टोलीले ३५ दिन गलाएर सो अनुसन्धान गरेको जानकारी दिइन् ।
साढे ३ अर्ब बराबर बिगो कायम गरी २६ जनाविरुद्ध मुद्दा चलाउन राय
यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ । सीआईबीले पत्रकार सम्मेलनपछि बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गर्दै छ ।
सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गर्ने भएको छ ।
उनीहरुलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ ।
यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । १८ जना फरार छन् । फरार मध्ये १४ जना विदेशी नागरिक हुन् । सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी राय दिएको हो ।
’हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा बिदेशी नागरिकहरू पक्राउ परेका र रेडिट्रेड प्रा.लि.बाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा वरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मुल्य रु. ३ अरब ५० करोड २ लाख १६ हजार ५ सय ५२ बराबरको सनु अवैध पैठारी भएको पुष्टि हुन आएको’ सीआईबीले पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा छ ।
त्यसैगरी सुन अवैध पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीहरू मार्फत ल्याईएको सुनको विवरणको पनि थप अनुसन्धान जारी राखिएको सीआईबीले जानकारी दिएको छ । ’यस प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकहरूले झुटा विवरण पेश गरि नेपाली नागरिकता तथा राहदानी समेत लिएको पुष्टि हुन आएको हुदाँ सो सम्बन्धमा समेत थप अनुसन्धान भई रहेको छ’ विज्ञप्तिमा छ ।
गत असार २ मा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगल स्थित त्रि.वि. भन्सार कार्यालय परिसर बाहिर बा २ ज २३२४ नम्बरको ट्यागसीमा गाडीको ब्रेक प्याड १६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो । बरामद भएको उक्त ब्रेक प्याडमा अवैध सुन भएको पुष्टि भएको थियो ।
ब्रेक प्याड, सेभर, स्मार्ट वाच लगायतका उपकरण प्रयोग गरेर सुन तस्करी हुने गरेको पनि अनुसन्धानमा देखिएको छ । ६०.७१६ केजी सुन, ११८० सेट ब्रेक प्याड, सुन गाल्ने मेसिन १० वटा बरामद भएको थियो ।























