सर्लाही- कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबिच झडप भएपछि बढ्दै गएको तनाव नियन्त्रण गर्न सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्म रहने प्रशासनले जनाएको छ।
शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबिच झडप र ढुंगामुढा भएको थियो। लगत्तै प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउण्ड हवाई फायर गर्दै भीड तितरबितर पारेको थियो।
अबेर राति अवस्था सामान्य बने पनि शनिबार बिहानैबाट सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो।
तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको सर्लाही प्रहरी प्रमुख (एसपी) नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार निषेधाज्ञा शनिबार दिउँसो ४ बजेबाट आइतबार बिहान ८ बजेसम्म रहने छ। सुरक्षा संवेदनशीलता हेरेर निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
प्रदर्शन र ढुंगामुढाका कारण मलंगवाका पसल तथा बजार बन्द छ। बिहानैदेखि मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न सकेका छैनन्।






















