काठमाडौं- आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ।
स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोगविरुद्धको २० हजार मात्रा एचपीभी खोप लगाउन लागेको जानकारी दिएको हो। विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्ने बताए।
उनले एचपीभी खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने सङ्क्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने जानकारी दिए। यो खोप यौनसम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ। पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने बताए ।
‘‘हामी अहिले एचपीभी खोपको डेमोन्स्ट्रेसन कार्यक्रम सञ्चालनमा छौँ । सात वटा प्रदेशका सात वटा अस्पतालबाट सञ्चालन गर्न गइरहेका छौँ । अहिलेका लागि लक्षित वर्ग भनेको १४ वर्ष नाघेको १५ वर्ष नपुगेको उमेर समूहका किशोरी हुन् । हामीले २० हजार मात्रा खोप लिएर आएका छौँ । नौ हजार आठ सय जना जतिलाई खोप दिनसक्छौँ । एचपीभी पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हो । नेपालमा हेर्दाखेरी क्यान्सरमध्ये केसले गर्दा मृत्यु हुँदोरहेछ भनेर अध्ययन गर्दा महिलाहरुको मृत्युको प्रमुख कारण सर्भाइकल क्यान्सर हो ।,’’ डा.गौतमले भने, ‘‘सर्भाइकल क्यान्सर गराउने एचपीभी भाइरसले गर्दा भएको कारण खोप लगाउन लागेका हौँ । सन् २०२० को तथ्याङ्कले पाठेघरको मुखको क्यान्सर तीन जनालाई लाग्यो भने दुई जनाको मृत्यु भएको देखाएको छ । त्यही भएर पनि उच्च प्राथमिकताका साथ सञ्चालन गर्न लागिएको छ । डेमोष्ट्रेसन कार्यक्रम भनेर सञ्चालन गर्न लागिएको छ ।’’
साधारणतया एचपीभी खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिँगटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्सन हुने भए पनि यी असरहरु सामान्य मात्रै भएको उनको भनाइ छ । निकट भविष्यमा १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउने गरी राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने जानकारी दिए। एच.पि.भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सरसमेत गराउन सक्ने डा.गौतमले बताए ।
उनले पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा धेरै जसोमा लक्षण नदेखिए पनि अन्तिम अवस्थामा मात्र पहिचान हुनसक्ने बताए । सङ्क्रमण हुँदा पछि गएर तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्त अल्पता जस्ता लक्षणहरु देखिने जानकारी दिए। एचपिभी मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौनसम्पर्कबाट सर्ने र यो सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्कमार्फत पनि सर्नसक्ने डा.गौतमको भनाइ छ।


विश्व खबर 



















