काठमाडाैं- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र उपसचिव गरी १० जना अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । त्यसमध्ये एक जनाको भने पदस्थापन भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा अन्जन न्यौपानेलाई सरुवा गरिएको छ । न्यौपाने यसअघि धनकुटाको प्रमुख जिल्ला अधिकारी थिए । डडेल्धुराका सीडीओ विश्वराज न्यौपानेलाई भने पाँचथरको सहायक सीडीओ बनाइएको छ ।
डडेल्धुरा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो ।
मन्त्रालयका अनुसार गृह मन्त्रालयअन्तर्गत कार्यरत उपसचिव ज्ञाननाथ ढकालको भने पदस्थापन भएको छ । इलाका प्रशासन कार्यालय, फर्पिङ काठमाडौंमा उनको पदस्थापन भएको हो ।
मन्त्रालयले इलाका प्रशासन कार्यालय कटारीमा कार्यरत चेतराज बराललाई ओखलढुंगाको सीडीओ बनाइएको छ । त्यस्तै ओखलढुंगाकी सीडीओ प्रदर्शनीकुमारीलाई भोजपुरको सहायक सीडीओ बनाइएको छ ।






















