images
images
  • अस्पतालको इमर्जेन्सीमै उपचार नपाएर बालिकाको मृत्यु, छानबिन समिति गठन

    काठमाडाैं। कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म पालो कुर्दा पनि उपचार नपाएर पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्युलाई गुपचुप पार्न खोजेको अस्पताल प्रशासनले सार्वजनिक दबाबपछि छानबिन समिति गठन गरेको छ ।

    सोमबार मकवानपुरकी थाहा नगरपालिकाको–१० की पाँच वर्षीया रेजिशा गोपालीको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचारका लागि पालो कुर्दाकुर्दै मृत्यु भएकाे थियाे।

    बुधबार घटना बाहिरिएपछि जनस्तरबाट अस्पताल प्रशासन र कर्मचारीको व्यापक विरोध र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले समेत दोषीलाई कारबाही गर्न निर्देशन दिएपछि तीन सदस्यीय छानबिन समिति गठन भएकाे छ।

    डा. प्रकाश जोशीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल सदस्य छन् । अस्पतालका निर्देशक डा. पंकज रायले बुधबार दिउँसो विज्ञप्ति जारी गरेर छानबिन समिति गठनबारे जानकारी दिएका हुन् । विज्ञप्तिमा लेखिएको छ, ‘सोमबार रातको समयमा यस अस्पतालको इमर्जेन्सी वार्डमा भएको घटनाका सन्दर्भमा सत्यतथ्य पत्ता लगाउन तपाईं (डा. प्रकाश जोशी)को संयोजकत्वमा तपसिलबमोजिमका सदस्यहरू (सिलवाल र दाहाल) रहने गरी समिति गठन गरिएको हुँदा सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाई पाँच दिनभित्र प्रतिवेदन पेस गर्नुहुन अनुरोध छ ।’

    काठमाडौंको बाफल बस्ने मकवानपुर–१० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आउने, बान्ता हुनेभएपछि सोमबार दिँउसो ५ बजे कान्तिको इमर्जेन्सी कक्ष पुर्याइएको थियो । तर, समयमै उपचार नगर्दा बालिकाको ज्यान गएको आफन्तले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images