images
images
  • कोशीका मुख्यमन्त्रीविरुद्धकाे रिटमा आज विपक्षीको बहस हुँदै

    काठमाडौं-  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतमा आज (मंगलबार) पनि सुनुवाइ हुने भएको छ। नेकपा एमालेले दायर गरेको रिटमाथि सोमबारदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको थियो।

    प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमाथि सोमबार भएको सुनुवाइमा निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। मंगलबार सरकारी वकिल र मुख्यमन्त्री थापाका कानुन व्यवसायीको बहस हुनेछ।

    विपक्षीको बहस सकिएपछि निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहस पनि सकिए सम्भवत: मंगलबार नै अदालतले रिटमाथि फैसला सुनाउनेछ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ।

    उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए । सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ । मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा ४६ सांसदमात्र हुने भएपछि ४७ सदस्य पुर्याउन प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्‍राइल मन्सुरीले मतदान गरेका थिए। भदौ ४ मा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए।

    विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान भइरहेका बेला मन्सुरीले सभाको अध्यक्षता गरेका थिए।  मतदान र मत सच्याउने समय पनि सकिएपछि मन्सुरीले सभाको अध्यक्षता गर्न तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images