images
images
  • यी हुन् मुद्दती निक्षेपमा ब्याजदर बढाउने पाँच बैंक

    काठमाडौं- वाणिज्य बैंकहरूले साउन १ गतेदेखि लागु हुने ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये केहीले हाल दिँदै आएको ब्याजदरभन्दा घटाएका छन् । केहीले बढाएका छन् ।

    यसअघि २० वाणिज्य बैंकले नै व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिँदै आएका थिए । साउनबाट वाणिज्य बैंकहरूले आफ्नै किसिमले ब्याजदर घटबढ गरेका छन् ।

    ब्याजदर बढाउनेमा एनएमबि, एनआईसी एसिया, प्राइम कमर्सियल, नबिल र कुमारी बैंक छन् ।

    यी पाँच बैंकले ब्यक्तिगत मुद्दती निक्षेपमा बढी ब्याज दिएसँग यी बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदर पनि महँगिनेछ । यसअघि वाणिज्य बैंकहरूले ब्यक्तिगत निक्षेपमा दिने ब्याजदर एउटै थियो । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले भद्रसहमति तोडेपछि बैंकहरूले आफ्नै हिसाबले ब्याजदर तोकेका हुन् ।

    एनएमबि बैंकले १० वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा १०.९८ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, यो बैंकले एक वर्षदेखि २ वर्षमुनिको मुद्दती निक्षेपमा ९.५० प्रतिशत र दुई वर्षदेखि १० वर्षमुनिको मुद्दती निक्षेपमा ९.७५ प्रतिशत ब्याज दिने भएको छ ।

    प्राइम कमर्सियल बैंकले तीन महिनादेखि माथिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने जानकारी दिएको छ । एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.९४ प्रतशित ब्याज दिने छ । दुई वर्षभन्दा माथिको व्यक्तिगत निक्षेपमा नबिल बैंकले १०.४९ प्रतिशत ब्याज दिने भएको छ ।

    त्यसैगरी कुमारी बैंकले भने पाँच वर्षभन्दा बढीको व्यक्तिगत मुद्दती निक्षेपमा १०.०१ प्रतिशत ब्याज दिने सूचनामार्फत जानकारी गराएको छ । यसरी मुद्दती निक्षेपमा ब्याजदर बढाएका बैंकबाट प्रवाह कर्जाको ब्याजदर पनि महँगो हुने गर्छ । निक्षेपमा ब्याजदर बढ्दा बैंकहरूमा पैसा तान्ने प्रतिस्पर्धा चल्ने छ । सस्तोमा निक्षेप संकलन गर्नेले भने सस्तोमा नै कर्जा लगानी गर्ने गर्छन् ।

    बाँकी १५ वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा कम ब्याज दिने भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images