काठमाडौं- चालू आर्थिक वर्षको जेठ मसान्तसम्म कुल रु. ११ खर्ब १२ अर्ब ५२ करोडबराबरको विप्रेषण (रेमिटेन्स) मुलुक भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालू आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२.७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई आठ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई चार लाख ५९ हजार चार १५ पुगेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई दुई लाख ६० हजार दुई सय ६२ पुगेको छ ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु. १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो।


विश्व खबर 

















