भरतपुर- भरतपुर महानगरपालिकाको वडा नं ११ बाट वडा नं २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाउन सिमाङ्कनको काम थालिएको छ ।
महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको हो । सोका लागि सिमाङ्कनको काम सुरु गरिएको हो ।
महानगरपालिकाले घोलको सिमाङ्कन र संरक्षण गर्न उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा समितिसमेत गठन गरेर काम अघि बढाएको हो ।
समितिका संयोजक अधिकारीका अनुसार घोल महानगरका ११ वडामा पर्दछ । ती वडाहरुले सिमाङ्कनको काम सुरु गरेका हुन् । उनले भने, “केही वडाले काम थालेका छन्, केही थाल्ने तयारीमा रहेका छन् ।” घोलको सिमाङ्कन वडाले आफैँ छुट्याउने छन् ।
कुनै समस्या भएमा महानगरपालिकाले सहजीकरण गर्ने उनले बताए । महानगर प्रमुख रेनु दाहालले यथाशीघ्र छिटो काम सम्पन्न गर्नेगरी वडालाई सिमाङ्कन गर्न भनिएको बताइन् । उनले भनिन्, “वडाहरुले काम सुरु गरेकाले छिट्टै सिमाङ्कनको काम सकेर निर्माणको काम थालिने छ ।”
उनका अनुसार ३० दशमलव दुई किलोमिटर लामो घोल कम्तिमा छ मिटर फराकिलो छ । कतिपय स्थानमा चौडाइ धेरै भएको भन्दै उनले सिमाङ्कनको काम सम्पन्न भएसँगै वास्तविक क्षेत्रफल आउने बताए । घोल संरक्षण र व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा काम गर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजनाले रु १८ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा रु चार करोडको काम गोन्द्राङमा गरिएको छ ।
दाहालले भनिन्, “महानगरले पनि थप बजेट विनियोजन गर्छ ।” घोलको भुँइ र भित्तोमा पर्खाल लगाएर व्यवस्थित गरिँदैछ । दायाँबायाँ साइकल लेनसहितको फुटपाथ बनाइँदैछ । दाहालका अनुसार फराकिलो ठाउँ भएका स्थलमा उद्यान निर्माण गरिनेछ । फराकिला ठाउँहरुमा व्यायमशाला बनाइनेछ । बिहान बेलुका हिँड्न र हरियालीमा रमाउन मिल्ने गरी वृक्षरोपण गरिनेछ । डुङ्गा राख्नका लागि स्थल बनाइनेछ । गुरुयोजनाअनुसार काम गर्न रु एक अर्ब ३७ करोड लाग्ने छ । यो घोल वडा नं १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ हुँदै बगेको छ ।
घोल महानगरका लागि अत्यावश्यक र दूरगामी महत्व राख्ने आयोजना हो । दाहालले भनिन्, “यो घोलले हाम्रो महानगरपालिकाभित्रको सुन्दरता बढाउँछ ।” यससँगै महानगरभित्रका डुबान क्षेत्रको पानीको निकासको काम यो घोलले गर्ने उनको भनाइ छ ।
यसबाट एकातिर सार्वजनिक सम्पत्तिको संरक्षण हुनेछ भने अर्काेतिर उद्यान बनाएर पर्यटकलाई पनि आकर्षण गर्न सकिनेछ । हिउँदमा समेत नारायणी लिफ्टको पानी नहरमा हालेर केरुङ्गामा डुङ्गा चलाउने योजना महानगरको छ । वर्षात्को समयमा पानी धेरै हुने तर घोल साँघुरो भएकाले त्यहीँबाट बस्तीमा पानी पस्ने समस्यासमेत हुँदै आएको छ । गुरुयोजनाअनुसार काम सम्पन्न हुँदै गर्दा महानगरको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा यो विकास हुने छ । भरतपुरको गणेशस्थानदेखि जगतपुरस्थित राप्ती नदीसम्म हरियाली सौन्दर्यतासँगै डुङ्गा चलाउँदै गर्दा यसले आन्तरिक र बाह्य पर्यटकसमेत आकर्षित गर्ने महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले बताए । -रासस


विश्व खबर 




















