images
images
  • जेठसम्ममा २ सय ८३ नयाँ उद्योग दर्ता, कसको लगानी कति ?

    काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा २ सय ८३ नयाँ उद्योग दर्ता भएका छन्। स्वदेशी तथा विदेशी लगानीका यी नयाँ उद्योगहरूमा प्रस्तावित लगानी २ खर्ब ३ अर्ब हाराहारी रहेको उद्योग विभागको तथ्यांकमा छ।

    दर्ता भएका सबै उद्योग स्थापना भएर सञ्चालनमा आए २० हजार जनाभन्दा बढीले रोजगारी पाउने छन्। उद्योग विभागको तथ्यांकका अनुसार मुलुकमा हालसम्म ९ हजार ४६ स्वदेशी तथा विदेशी लगानीका उद्योगहरु दर्ता भएका छन्।

    यी उद्योगहरूले २८ खर्ब २७ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। यसबाट ६ लाख ७७ हजारभन्दा बढीका लागि रोजगारी सृजना भएको विभागको विवरणमा छ।

    चालु आवको ११ महिनामा करिब १५८ वटा साना, ६४ मझौला र ६१ ठूला प्रकृतिका नयाँ उद्योगहरू दर्ता भएका छन्। गत जेठमा मात्रै २८ साना उद्योग, २ मझौला र ५ ठूला उद्योग दर्ता भएको छ।
    औद्योगिक व्यवसाय ऐन, २०७६ ले ५० करोडभन्दा बढी स्थिर पुँजी भएकालाई ठूला उद्योग, १५ करोडदेखि ५० करोड रुपैयाँसम्मको स्थिर पुँजी भएकालाई मझौला उद्योग र १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योगमा गनिन्छ।

    यस आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म दर्ता भएका नयाँ उद्योग विशेषगरी उत्पादनमूलक छन्। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ११ महिनामा दर्ता भएका उद्योगमध्ये ३७.४५ प्रतिशत उत्पादनमूलक क्षेत्रका छन्। यस क्षेत्रको मात्रै १ सय ६ वटा नयाँ उद्योग दर्ता भएका छन्।

    त्यस्तै, गत साउनदेखि वैशाखसम्ममा दर्ता भएका स्वदेशी तथा विदेशी लगानी रहने उद्योगमध्ये २०.८४ प्रतिशत सेवामूलक क्षेत्रका छन्। यस क्षेत्रको ५९ नयाँ उद्योग दर्ता भएका छन्।

    पर्यटन क्षेत्रमा १९.०८ प्रतिशत अर्थात ५४ नयाँ उद्योगहरू स्थापना हुनेगरी अनुमति लिएका छन्। यसबाहेक, ऊर्जा क्षेत्रमा १४.४८ प्रतिशत अर्थात ४१ उद्योगले अनुमति लिएको छ। पूर्वाधारमा एउटा उद्योग नयाँ छ। सूचना प्रविधिमा ३.८८ प्रतिशत अर्थात ११ नयाँ उद्योग तथा मिनरल उद्योगमा ४ नयाँ उद्योग र कृषि क्षेत्रमा सात नयाँ उद्योग दर्ता भएका छन्।

    गत जेठ महिनामा मात्रै दर्ता भएका ३५ नयाँ उद्योगहरूमा करिब ३४.२८ प्रतिशत अर्थात १२ उद्योग सेवामूलक क्षेत्रमा केन्द्रित छन्। त्यस्तै २८.५७ प्रतिशत उद्योग अर्थात १० नयाँ उद्योग पर्यटन क्षेत्रका छन्। उत्पादनमूलक क्षेत्रमा आठ नयाँ उद्योगहरू स्थापना हुनेगरी अनुमति लिएका छन्। त्यस्तै, ऊर्जामा दुई, सूचना प्रविधिमा दुई र कृषिमा एउटा उद्योग नयाँ दर्ता भएको छ।

    चालु आवको वैशाख मसान्तसम्म विभागमा एक अर्बभन्दा बढी लगानी हुने पाँच ठूला होटल र रिसोर्टहरू दर्ता भएका थिए। जेठमा भने सानोे परिमाणका ४ होटल र ५ रेस्टुरेन्टहरु दर्ता भएका छन्। काठमाडौंमा रहने गरी गत महिनामा ५९ करोड २६ लाख बराबरको होटल लो मुस्ताङ दर्ता भएको छ। यो होटलमा करिब एक सय बेड र ८० सिटिङको रेस्टुरेन्ट रहने छ।

    त्यस्तै, वैशाखसम्म ठूला लगानीका दुई नयाँ केबलकार कम्पनी, एभिएसन स्कूल र नयाँ एयरलाइन्स, तयारी चाउचाउ तथा स्न्याक्स उद्योग, चार ठूला परिमाणको टायल उद्योग, दुई चिनी मिल, ८५ करोड लगानीमा औषधि उद्योग र कीर्तिपुरमा जिपलाइन सहितको होटल दर्ता भएका थिए।

    जेठ महिनामा भने मोरङमा दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्स दर्ता भएको छ। उद्योगले वार्षिक १५०० मेट्रिक टन मसला, ३ हजार मेट्रिक टन स्न्याक्स, २ हजार मेट्रिक टन चाउचाउ लगायतका खानेकुरा उत्पादन गर्ने लक्ष्य लिएको छ।

    त्यस्तै, पर्सामा सञ्चालन हुने अर्को ठूलो लगानीको उत्पादनमूलक उद्योग हिमालयन सोलभेन्ट्स दर्ता भएको छ। यसमा ९२ करोड हाराहारी लगानी प्रतिबद्धता छ। यो उद्योगले वार्षिक १४ हजार मेट्रिक टन हाराहारी सोया तेल, ४३२ मेट्रिक टन तोरीको तेल उत्पादन गर्नेछ।

    यस बाहेक, ऊर्जा क्षेत्रमा दुई ठूला उद्योगहरू दर्ता भएका छन्। रसुवामा सञ्चालनमा आउने त्रिशूली क्यास्केड उद्योग दर्ता भएको छ। यसमा करिब ४ अर्ब २२ करोड लगानी रहने जनाइएको छ। यस आयोजनाबाट २४.६ मेगावाट विद्युत उत्पादन गर्नेछ।

    म्याग्दीमा स्थापना हुने फ्रेस वाटर इनर्जी उद्योग दर्ता भएको छ। करिब २ अर्ब ६२ करोड लगानी गरिने यो जलविद्युत आयोजनाले वार्षिक १२.७३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। -बिजमाण्डू

    प्रतिक्रिया दिनुहोस्
    images
    images