काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको समितिको बैठकबाट अघिल्लो निर्णय सच्याउँदै ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको हो ।
समितिले गएको जेठ २९ गते नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न धितोपत्र बोर्डलाई पत्र पठाइएको थियो । ४३ वटा कम्पनीलाई आशयपत्र र १८ वटा कम्पनीलाई लाइसेन्स नै दिइसकेको अवस्थामा संसदीय समितिले त्यसलाई रोक्न भनेपछि अन्योल भएको थियो । नयाँ ब्रोकर एसोसिएशनले असन्तुष्टि जनाउँदै अर्थ समितिलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।
आज उक्त निर्णय सच्याएर ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
धितोपत्र बोर्डबाट लाइसेन्स पाइसकेपछि नेपाल स्टक एक्सचेन्जबाट ब्रोकर सदस्यता लिनुपर्छ । सदस्यता लिएपछि मात्र आधिकारिक कारोबार गर्न पाइन्छ ।


विश्व खबर 

















