रुपन्देही- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ कालागि करिब ४० अर्ब बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँबराबरको बजेट ल्याएका हुन्।
सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ । जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट ल्याएको छ। त्यस्तै वित्तीय हस्तान्तरणका तर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट ल्याएको हो। जुन चालु तर्फ ३३.६८ प्रतिशत, पुँजीगत तर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत छ।
आगामी वर्ष आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भइ प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान छ।
आगामी वर्षका लागि अर्थमन्त्री मास्कीले स्थानीय स्तरमा उत्पादन हुने मदिरालाई वैधानिकता बनाउनका लागि पहल गर्न बजेट विनियोजन गरेका छन्।
आदिवासी जनजाति समुदायबाट परम्परागत सीपका आधारमा उत्पादित महुवा, अनदी, कोदो, मकै, जामुन, टिमुर, कुरिलो आदिको पेय पदार्थ र मदिरा उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गरी ब्राण्डिङ गर्न कानुनी व्यवस्थाका लागि आवश्यक आद्योगिक प्रवद्र्धन कार्यक्रम गर्न १२ करोड, ८९ लाख बजेट गरिएको हो। जसबाट ७५ हजारलाई रोजगार पाउने अपेक्षा गरिएको छ।
त्यस्तै मन्त्री मास्कीले जनयुद्ध र जनआन्दोलनमा घाइते भइ गम्भीर रुपमा अशक्त भएका योद्धाको लागि सम्मान र स्नेही सहितको स्याहार केन्द्र स्थापनाको सम्भाब्यता अध्ययन गरी निर्माण कार्य सुरु गर्न २ करोड बजेट विनियोजन गरेका छन्।
साथै वन क्षेत्रमा फलफूल, काजु, ओखर, बेसार खेतिलगायतका बाली प्रवद्र्धन गरी आयआर्जनका कार्यक्रम सञ्चालन गर्न बजेट ल्याएका छन्। कृषिलाई प्राथामामिकता दिएर बजेट ल्याइएको छ।
प्रदेशका सबै जिल्लामा साना आयोजनामार्फत तीन सय हेक्टर क्षेत्रमा सिँचाइ पु¥याउन ९ करोड ९५ लाख हजार रुपैँया बजेट विनियोजन गरिएको छ।
अचार, गुन्द्रुक, मस्यौरा, केचअप, भाँगो, टिमुरको छोप, खुवा, पेडा, छुर्पि, महुवा र कोदोको परिकार लगायतका प्रशोधित वस्तु उत्पादन गर्न सना प्रशोधन उद्योग स्थापनामार्फत रोजगारी सिजर्ना गर्न २ करोड ५५ लाख, प्रदेशमा माछाको उत्पादन वैद्धि तथा स्थानीय माग पूरा गर्न ३५ हेक्टर क्षेत्रफलमा कृत्रिम जलाशय विस्तार र स्थानीय तहको समन्वयमा बर्दिया, दाङ, कपिलबस्तु, नवलपरासीमा १०० हेक्टर हेक्टर क्षेत्रफलमा प्राकृतिक जलाशयको संरक्षण तथा उपयोग गरी माछाको उत्पादन बढाउने कार्यक्रम सञ्चालनकालागि तीन करोड ६० लाख बजेट विनियोजन गरिएको छ।
सतह, भूमिगत तथा लिफ्ट सिंचाई र नयाँ प्रविधिमा आधारित २६६ वटा नयाँ सडक सिँचाइ आयोजना कार्यान्वयन गर्न ६६ करोड बिनियोजन भएको छ।
कृषक सवयंको व्यवस्थापनमा परम्परागत रुपमा सञ्चालित १५० वटा सिंचाई प्रणाली सम्भाव गरि करिब १३५० हेक्टर जमिन सिंचाई सेवा पूर्ण क्षमतामा सञ्चालन गर्न ४४ करोड, ६०० वटा स्यलो ट्युवेल निर्माण गर्नका लागि बजेट विनियोजन भएको छ।
त्यस्तै ’आजको सिकाई, भोलिको कमाइ’ भन्ने अभयिान अन्तर्गत एसइई र कक्षा १२ को परीक्षा दिइ नजिता कुरिरहेकाहरुलाई लक्षित गरी श्रम बजारको आवश्यकता र स्वरुची अनुसार खाली समय सदुपयोग हुने गरी एक देखि तीन महिने व्यवसायिक तालम प्रदान गर्न बजेट विनियोजन गरिएको छ।
त्यस्तै मुक्त कमैया, वादी समुदाय, भूमिहीन, मुसहर, चिडिमार, पासी, मङ्गता, गडरिया, नटुवालगायतका समुदायलाई एक हजार दुई सय परिवारलाई आयआर्जन तथा स्वरोजगारको अवसर सिर्जन गर्न बगर खेति, च्याउ खेति, कुखुरा, हाँस पालन, बाख्रा पालन, तरकारी, नर्सरीलगायतका ब्यबसाय सञ्चालन गर्न २ करोड ४४ लाख बजेट बिनियोजन गरिएको छ।
८० वर्ष माथिका जेष्ट नागरिक र अतिअशक्तलाई स्थानीय तहसँगको सहकार्यमा घरमै स्वास्थ्य सेवा प्रवाह गर्न २ करोड, रुकुमपूर्व, रोल्पा र पाल्पालगायतका जिल्लामा नियमित विशेषज्ञ चिकित्सक नियमित रुपमा उपलब्ध गराउन स्वास्थ्यकर्मीलाई प्रत्साहन गर्न बजेट बिनियोजन गरिएको छ।
स्वास्थ्य स्वयंसेविकालाई ६० वर्षे हदम्यादका कारण अवकास हुनेलाई प्रतिब्यक्ति ५० हजार दिने, सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगको सचेतना र स्क्रिनिङ ६ वटा कार्यालयबाट गर्न र सोको निदान, उपचार तथा प्रेषणको व्यवस्था प्रदेश जनस्वास्थ्य प्रयोगशाला तथा पृथ्वीचन्द्र, भिम, कपिलबस्तु, भेरी, बर्दिया, लुम्बिनी प्रादेशिक, राप्ती प्रादेशिक अस्पताल तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपचार हुने ब्यबस्था मिलाउनकालागि २ करोड बजेट विनियोजन गर्नुकासाथै स्वास्थ्य बीमाको पनि ब्यबस्थापन गरिएको छ।
सेवाग्राहीको चाप भएका सार्वजनिक स्थलमा सुरक्षित एवं व्यवस्थित खानेपानी तथा सरसफाई सेवा प्रदान गर्न वाटर एटिएम र सुविधासम्पन्न शौचालय निर्माण गर्न बजेट विनियोजन गरिएको छ।
त्यस्तै पाल्पाको रामपुर, कपिलबस्तुको महाराजगञ्ज र दाङको कोइलाबास तथा तुलसीपुरको सहरी पूर्वाधार विकास कार्यलाई निरन्तरता दिन २८ करोड बजेट विनियोजन भएको छ। पहाडी क्षेत्रबाट तराईमा बसोबास सर्ने कार्य न्यून गर्न एक जिल्ला, एक नमुना बस्तिकालागि ४ करोड ८० लाख बजेट विनियोजन गरिएको छ।
प्रयोगविहीन विद्यालय तथा अन्य भवनलाई स्थानीय तहसँगको समन्वयमा मर्मत सम्भार गरी अल्पकालीन आश्रयस्थलको रुपमा उपयोगमा ल्याउन ३ करोड ५० लाख बजेट विनियोजन भएको छ। सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक पु¥याउने लक्ष्यका साथै स्थानीय तह पहुँच मार्गको स्तरोन्नतिका लागि ५० करोड १५ लाख बजेट विनियोजन गरिएको छ।
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/06/Lumbini-Bujet.pdf


विश्व खबर 


















