काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज ९७ जना यात्रु लिएर मलेसियाको राजधानी क्वालालम्पुरबाट पहिलोपटक भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ।
११ जना विदेशीसहित ९७ जना यात्रु बोकेर क्वालालम्पुरबाट आएको जहाज मंगलबार बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
निगमको जहाजमा आएका ९७ यात्रुमध्ये ३१ जनालाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले स्वागत गरेका छन्।
१ सय ५८ सिट क्षमताको निगमको नाइन एन एकेएक्स कल साइन भएको न्यारोबडी जहाज मंगलबार बिहान पौने ९ बजे भैरहवा अवतरण गरेको हो।
निगमले पहिलोपटक मलेशिया–भैरहवा उडान सुरू गरेपछि पर्यटनमन्त्री सुदन किराती आफैँ यात्रुहरूको स्वागतका लागी भैरहवा आएका थिए।
मलेसियाबाट आएका यात्रुहरूलाई भैरहवा अवतरण गराएर उक्त जहाज काठमाडौं जाने छ। भैरहवा आएका मलेशियाका पर्यटन व्यवसायीहरू भने लुम्बिनी भ्रमण गरी काठमाडौं हुँदै मलेशिया फर्किने बताइएको छ।
निगमले जेठ पहिलो साता मलेशिया–भैरहवा उडानको घोषणा गर्दै सुरूमा प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रूपैयाँ घोषणा गरेको थियो।अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेशिया काठमाडौं ५६ हजार रूपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।जग्गा अधिग्रहण समेत गरी ३० अर्ब हाराहारी रूपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षसम्म व्यावसायिक उडानका लागि कम्पनीहरूले चासो नदिएपछि व्यवसायी चिन्तित छन्।
यसअघि नेपाल वायुसेवा निगमको न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलान्स मात्रै रहेको थियो।


विश्व खबर 


















