images
images
  • गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा आमहड्ताल

    धनगढी- कैलालीको गेटा मेडिकल कलेजलाई मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशमा आन्दोलन चर्किएको छ ।

    सञ्चालनमा नै नआएको प्रस्तावित गेटा मेडिकल कलेजलाई ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ नामाकरण गरी सञ्चालनमा ल्याउन माग सहित प्रदेशवासी आन्दोलित भएका हुन् ।

    गत माघ २९ गते बसेको संघीय मन्त्रिपरिषद बैठकले उक्त मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यसले प्रदेशवासीमा खुसी छाएको थियो । तर अहिले आएर आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटमा विश्वविद्यालयको नामै उल्लेख नगरी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने र १०० शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरियो । यस निर्णयले प्रदेशवासीमा असन्तोष चुलिएको छ ।

    सामाजिक सञ्जालमार्फत र फोन तथा एसएमएसमार्फत दबाब सिर्जना गर्दै आमहड्ताल समेत घोषणा गरिएको छ ।

    मन्त्रिपरिषदको निर्णय अनुसार नै मेडिकल विश्वविद्यालय स्थापना हुनुपर्ने माग राखी हड्ताल र आन्दोलन सुरु गरिएको हो । संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजर्निक गर्दै आज सुदूरपश्चिम प्रदेशभर आम हड्ताल गरेको छ ।

    यस हड्तालका कारण प्रदेशमा लामो दूरीका सवारी साधन र स्थानीय रुटमा चल्ने सवारी साधन समेत चल्न नसकेको प्रहरीले जनाएको छ ।

    धनगढी, महेन्द्रनगर, अत्तरिया लगायत मुख्य शहरमा बजार समेत खुल्न नसकेको र अन्य स्थानमा शैक्षिक संस्था समेत बन्द गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images