images
images
  • चिनियाँ जनमुक्ति सेनाद्धारा वीरेन्द्र सैनिक अस्पताललाई ‘एमआरआई’ मेशिन प्रदान

    काठमाडौं- चिनियाँ जनमुक्ति सेनाको सहयाेगमा छाउनीस्थित वीरेन्द्र अस्पतालमा अत्याधुनिक एमआरआई (MRI-Magnetic Resonance Imaging) मेशिन जडान भएको छ । यसबाट नेपाली सेनामा प्रविधिमा आधारित स्वास्थ्य उपचार सुविधाको विस्तारमा ठूलो उपलब्धि हासिल भएको छ ।

    जनबादी गणतन्त्र चीन सरकारबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त मेशिन औपचारिक रुपमा हस्तान्तरणका लागि आयोजित समारोहमा नेपालका लागि चीनका राजदूत  चेन सोङ्ग र प्रधान सेनापति महारथी प्रभुराम शर्माले ‘एमआरआई’ मेशिन जडित कक्षको संयुक्त रुपमा उद्‍घाटन गरिएकाे छ ।

    347278477 797198251749230 1149683330760505181 n1

    साे विशेष समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रमा पुर्‍याएको योगदानका लागि चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाप्रति नेपाली सेनाको तर्फबाट आभार प्रकट गरेका छन् ।

    नेपाली जनता तथा चिनियाँ जनताहरु बीच रहँदै आएको युगौं पुरानो सुमधुर सम्बन्धका बारेमा उल्लेख गर्दै प्रधान सेनापतिले सन् २०१५ को विनासकारी भूकम्प पश्चातको उद्धार तथा पुन:निर्माण प्रयासहरुका साथै कोभिड-१९ महामारी विरुद्धका प्रयासहरुमा चीनबाट प्राप्त सहयोग नेपाली जनता तथा नेपाली सेनाका लागि स्मरणीय रहने कुरा बताएका छन् ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्‍दै चिनियाँ राजदूत चेन सोङ्ग ले नेपाल चीनको एक असल छिमेकीका रुपमा रहि आएको कुरा बताउदै नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रको सुधारमा सहयोग गर्न पाएकोमा प्रशन्‍नता व्यक्त गरेका छन् । चिनियाँ राजदूतले दुई देशका जनता तथा सरकारहरु बीचको सम्बन्ध सुमधुर रहेको तथा भविष्यमा पनि रहिरहने विश्वास समेत व्यक्त गरेका छन् ।

    वीरेन्द्र सैनिक अस्पतालमा २०८० जेठ ३ गते आयोजित कार्यक्रममा बलाधिकृत रथी, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु लगायत चिनियाँ राजदूतावासका पदाधिकारी एवं चिनियाँ सैनिक सहचारीको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएकाे छ ।

    1 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images