काठमाडौं- कित्ताकाट घरी खोल्ने घरी बन्द गर्ने सरकारको अस्थिर निर्णयले वैशाखमा घरजग्गा कारोबार नै घटेको छ।
साविककै अवस्थामा कित्ताकाट खोल्ने क्याबिनेटको निर्णय पुनः मन्त्रिपरिषद्को विषयगत समिति हुँदै पुनः भूमि व्यवस्था मन्त्रालय फर्काइएपछि घरजग्गा व्यवसायीहरु नीतिगत अस्थिरताका कारण कारोबार गर्नै हच्किएका छन्। जसका कारण वैशाखमा कारोबारसँगै सरकारले संकलन गर्ने राजस्वमा समेत धक्का पुगेको छ।
वैशाखमा देशभरका मालपोत कार्यालयमा लिखत पारित र घरजग्गा कारोबारबाट सरकारले संकलन गर्ने राजस्व घटेको छ।
यस्तै, ऋणको ब्याजदर अझै घट्ने आशाका कारण पनि तत्कालै ऋण लिएर काम गर्नेको संख्या घट्दा कारोबार घटेको घरजग्गा व्यवसायीको भनाइ छ। ऋणको ब्याजदर अझै घट्ने आशामा व्यवसायी छन्। जसका कारण कारोबारमा केही असर परेको देखिन्छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका मालपोत कार्यालयहरुबाट वैशाखमा ४२ हजार ४६१ लिखत पारित भएको छ। यो चैतको तुलनामा साढे ६ हजारभन्दा बढीले कम हो। यस्तै, चैतको तुलनामा घरजग्गाबाट उठ्ने राजस्व पनि ८२ करोडभन्दा बढीले घटेको छ।
चैतमा घरजग्गा कारोबारबाट सरकारले साढे ४ अर्बभन्दा बढी संकलन गरेको थियो। वैशाखमा भने घटेर ३ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ। गएको माघमा ४१ हजार ८६ भएको लिखत पारित फागुनमा झिनो घट्दै ४० हजार ७३४ मा सीमित बन्न पुगेको थियो। चैतमा फेरि बढेर ४९ हजार १५० पुगेको थियो।
चालु आव प्रवेश गर्दा गत साउनमा घरजग्गा कारोबारमा चर्को मन्दी छाएको थियो। साउनमा देशभरका मालपोतहरुबाट घरजग्गा कारोबारबाट जम्मा २ अर्ब ७३ करोड रुपैयाँ राजस्व उठेको थियो। जबकि असारमा ६ अर्ब रुपैयाँभन्दा बढीको राजस्व उठेको थियो। वैशाखमा चार अर्ब ७८ करोड, जेठमा चार अर्ब २४ करोड रुपैयाँ राजस्व घरजग्गा कारोबारबाट सरकारले उठाएको थियो।
भदौमा भने साउनको भन्दा झिनो सुधार देखिएको थियो। भदौमा ३४ हजार ७२० लिखत पारित हुँदा सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठाएको थियो। साउनबाटै घरजग्गा कारोबारमा आएको मन्दीकै कारण धमाधम सहकारी संस्थासमेत डुब्न थालेका थिए। त्यो क्रम अझै जारी छ।
साउन ताका बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गासमेत बिक्री हुन छाड्यो। साउन अघि त्यसरी राखिएका घरजग्गा सजिलै बिक्री हुन्थे। त्यसबाहेक पनि घरजग्गा व्यवसायीले प्लटिङ गरेका जग्गा समेत बिक्न छाड्यो। जसका कारण साउनमा सरकारलाई घरजग्गाबाट उठ्ने राजस्वमा ठूलो धक्का पुगेको थियो। साउनमा घरजग्गाको लिखत पारित घटेर ३३ हजार ८ सय ३४ मा झरिसकेको थियो।
असोजमा दसैंसहितका ठूला चाडपर्वका कारण घरजग्गा कारोबार थप प्रभावित बन्न पुग्यो। असोजमा देशभरका मालपोत कार्यालयहरुबाट २५ हजार ७८९ लिखत पारित हुँदा सरकारले २ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
कात्तिकमा बढेर लिखत पारित २७ हजार ९३९, मंसिरमा २९ हजार १८४, पुसमा ३८ हजार ८७१ पुगेको थियो।
त्यसैगरी, राजस्व संकलनका हिसाबले असोजमा सरकारले २ अर्ब ५६ करोड, कात्तिकमा ३ अर्ब, मंसिरमा २ अर्ब ६४ करोड, पुसमा ३ अर्ब ७१ करोड, माघमा ४ अर्ब ६९ करोड रुपैयाँ भएको थियो।
फागुनमा भने केही घटेर ३ अर्ब ५६ करोड उठेको राजस्व चैतमा एकैपटक साढे ४ अर्ब रुपैयाँ नाघेको थियो।


विश्व खबर 



















