काभ्रे- दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको बिहीबार नेपाल सरकारका तर्फबाट सम्मानसहित अन्तिम संस्कार गरिएको छ ।
‘जिउँदो सहिद’का नामले चिनिएका मुकेशको ३२ वर्षको उमेरमा बुधबार साँझ साढे ७ बजे बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
उनी लामो समयदेखि शिर मेमोरियलमै उपचाररत थिए । जनआन्दोलन सुरु भएको चौथो दिन २७ चैत ०६२ मा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लागेर घाइते भएका उनी त्यही दिनदेखि ओछ्यानमा परेका थिए । त्यसवेला उनको उमेर १४ वर्ष थियो । उनलाई ०७८ मा सरकारले ‘लोकतन्त्रका योद्धा’को सम्मान प्रदान गरेको थियो ।
मुकेशको पार्थिव शरीरमा सरकारको तर्फबाट सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र गृहसचिव दिनेश भट्टराईले राष्ट्रिय झन्डा ओढाए । उनलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा, माओवादी नेता तथा पूर्वराज्यमन्त्री सूर्यमान दोङलगायत अन्य जनप्रतिनिधि र काभ्रेली जनताले अन्तिम श्रद्धाञ्जली दिए ।
मुकेशको शवलाई बनेपा नगर परिक्रमापछि उग्रेश्वार घाट लगिएको थियो । त्यहीँ उनको अन्त्येष्टि गरिएको हो ।
‘उनी लामो समयदेखि शिर मेमोरियलमै उपचाररत थिए । जनआन्दोलन सुरु भएको चौथो दिन २७ चैत ०६२ मा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लागेर घाइते भएका उनी त्यही दिनदेखि ओछ्यानमा परेका थिए । त्यसवेला उनको उमेर १४ वर्ष थियो । उनलाई ०७८ मा सरकारले ‘लोकतन्त्रका योद्धा’को सम्मान प्रदान गरेको थियो ।
लामो समयको उपचार र परिवारको निरन्तरको हेरचाहपछि स्वास्थ्यमा केही सुधार देखिए पनि ०७५ देखि पुनः अर्धचेत अवस्थामा फर्किएका थिए ।
मुकेशको परिवारलाई सरकारले क्षतिपूर्तिबापत सुरुमा साढे ९ लाख, मह जोडीले सुरु गरेको जनआन्दोलन कोषबाट २ लाख, विभिन्न संघसंस्था र राजनीतिक संयन्त्रबाट सहयोग प्राप्त भएको थियो । सरकारले पछि दोस्रोपटक साढे ७ लाख रुपैयाँ दिएको थियो ।
यस्तै, सरकारले मासिक १८ हजार रुपैयाँ निर्वाह भत्ता दिँदै आएको थियो । सरकारले बैंकको साढे सात लाख ऋण मिनाहा गरेको थियो भने स्वास्थ्य अवस्था हेर्न एकजना अनमीको व्यवस्था गरेको थियो ।
सहिद घोषणा गर्न माग
अन्त्येष्टि कार्यक्रममा सहभागीहरूले सरकारले मुकेशलाई सहिद घोषणा गर्नुपर्ने बताए । एमाले नेता बाँस्कोटाले जनआन्दोलनको क्रममा घाइते भएका मुकेशलाई सरकारले जनआन्दोलनको सहिद घोषणा गर्नुपर्ने बताए ।
यस्तै, बनेपा नगरपालिकाभित्र क्रियाशील राजनीतिक दल तथा सञ्चारकर्मीहरूको बिहीबारै बसेको संयुक्त बैठकले पनि मुकेशलाई सहिद घोषणको माग ग¥यो । अन्त्येष्टिमा सहभागी मन्त्री मोदीले मुकेशलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए । कांग्रेस महामन्त्री शर्माले पनि मुकेशलाई सहिद घोषणा गर्न पार्टीको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए । कांग्रेस नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मुकेशजस्ता सपुतकै कारण देशमा राजनीतिक परिवर्तन सम्भव भएको बताए ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मन्त्री मोदीले भने– ‘कयौं मान्छे मृत्युपछि बिलाएर जान्छन् तर मुकेश कायस्थ युगौंयुग इतिहासमा बाँच्नुहुन्छ । मुकेशको भौतिक शरीर विलीन भए पनि उहाँले जन्मदाता आमा, बुबालाई समेत सदासदाका लागि चिनाइराख्नुहुनेछ । नेपालको इतिहासमा लोकतन्त्रका लागि ज्यानै बाजी लगाएर आन्दोलनमा होमिएको एउटा काभ्रेली युवा जिउँदो सहिदले हामीमाझ ठूलो इतिहास छोडेर जानुभएको छ । मुुकेश कायस्थलाई आउँदो मंगलबारको मन्त्रिपरिषद् बैठकबाटै प्रक्रिया पु¥याएर सहिद घोषणा गर्नेछौं ।’
कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै बनेपा नगरपालिकाले जिउँदो सहिदको सम्मानमा बिहीबार एक दिन नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालय तथा स्वास्थ्य केन्द्रहरूको प्रा∙णमा रहेको राष्ट्रिय झण्डा आधा झुकाई शोक बिदा दिएको थियो । बनेपा नगरपालिकाले कायस्थको श्रद्धाञ्जली सभा अन्त्येष्टिका लागि लाग्ने सम्पूर्ण खर्च व्यवस्था गर्नेसमेत निर्णय गरेको छ ।






















