काठमाडौं- बुढानिलकण्ठमा २ अर्ब ६५ करोड रुपैयाँ खर्चेर बाल अस्पताल निर्माण हुने भएको छ।
काठमाडौं इन्स्ट्रिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले बुढानिलकण्ठ–७ हेपाली हाइटमा किओच- काठमाडौं बाल अस्पताल निर्माण गर्न लागेको हो। किओचले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) तयार पारिसकेको छ। वन तथा वातावरण मन्त्रालय इआईए सार्वजनिक गर्दै राय/सुझाव मागेको छ।
आरसीसी फ्रेम प्रकृतिको भवन निर्माण हुनेछ। भुइँ तल्ला सहित ५ तल्ले भवन निर्माण गर्न लागिएको छ। बेसमेन्ट ३ तल्लाको हुनेछ। भवनको उचाई जमिनको सतहबाट २२.५ मिटर हुनेछ।
भवनको बिल्ड अप एरिया २३,९७१.३३ वर्ग मिटर हुनेछ। अस्पताल पूर्ण रुपमा बालमैत्री हुनेछ। बालबालिकाका लागि खेल मैदान, पार्क, विश्रामस्थल हुनेछ।
भुइँ तलामा ओपीडी, नामदर्ता, फार्मेसी, फिजियोथेरापी, डे केयर लगायतका हुनेछ। दोस्रो तलामा ओटी, प्रिओपी,एसआइसीयु, दोस्रोमा जनरल वार्ड, वेटिङ रुम, एनआईसीयु, पीयुसीयु, एचडीयु, तेस्रोमा डबल बेड रुम, सिंगल बेड रुम, सुइट रुम, चौथो तलामा जेनेरल वार्ड, प्रशासन, अडिटोरियम रहनेछ।
वेसमेन्टमा आकस्मिक कक्ष, खाना खाने क्षेत्र, रेडियोलोजी लगायत हुनेछ। ल्याब गोदाम, चिकित्सक कक्ष लुगाधुने सुविधा, हाउस किपिङ, पार्किङ पनि वेसमेन्टमा नै हुनेछ।
पार्किङ क्षेत्र ३८३५.२४ वर्ग मिटर हुनेछ। जसमा १२० वटा कार र २०० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ। अपाङगमैत्री ४ वटा लिफ्ट हुनेछ।
अस्पताल करिब ४१ रोपनी १० आना ३ पैसामा बन्नेछ। यो अस्पताल निर्माण हुने जग्गाको स्वामित्व नेपाल सरकारको नाममा छ। यो जग्गा बाल अस्पताल संचालन गर्न ३० वर्षका लागि लिजमा लिइएको हो।


विश्व खबर 


















