images
images
  • टोपबहादुर रायमाझीलाई आत्मसमर्पण गरेर प्रहरी अनुसन्धानलाई सघाउन एमालेको निर्देशन

    काठमाडौं- नेकपा एमालेले नक्कली भुटानी शरणाथी प्रकरणमा मुछिएका पार्टी सचिव  टोपबहादुर रायमाझीलाई प्रहरीमा उपस्थित हुन निर्देशन दिएको छ ।

    अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रायमाझीलाई प्रहरीमा उपस्थित भएर अनुसन्धानमा सघाउनुपर्ने निर्णयसहित एमालेले यस्तो निर्देशन दिएको हो ।

    मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने जानकारी गराएर फरार रायमाझीका कारण पार्टीको प्रतिष्ठामा समेत आँच पुगेको निष्कर्षसमेत निकालेको छ ।

    बैठकपछि एमाले उपहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नो पार्टी कानूनी शासनको पक्षधर भएकाले रायमाझीले अनुसन्धानमा सहयोग गर्नुपर्ने उल्लेख गरे।

    गुरुङले भने, “टोपबहादुर रायमाझीजीको नाम शरणार्थी प्रकरणमा आएको छ। यसमा हाम्रो निष्कर्ष भनेको विधिको शासन मान्ने भएकाले विधिपूर्वक कानूनलाई सघाउनुपर्छ भन्ने नै हो।”

    पार्टीले कारबाही किन गरेन त भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा गुरुङले भने, “दोषी ठहर भइसकेको छ र अहिले त अनुसन्धानको प्रारम्भ मात्रै छ। यस्ता कुरामा हतार गरेर हुँदैन।”

    फरार रायमाझीलाई पक्राउ गर्न प्रहरीले सोमबार देशभरका प्रहरी युनिटहरूलाई निर्देशन दिएको थियो । मंगलबार प्रहरीले ललितपुरस्थित उनको निजी निवासमा खानतलासी गरेको छ ।

    एमालेले रायमाझीमाथि प्रमाण नपुर्याई पार्टीमाथि पूर्वाग्रह साँधेर पनि पक्राउ पुर्जी जारी गरिएको हुन सक्ने र वास्तविकता उपस्थित भएर बयान दिएपछि मात्रै थाहा हुने निष्कर्ष पनि निकालेको छ ।
    अनुसन्धान प्रारम्भिक चरणमै रहेका कारण तत्काल अनुशासनको कारबाही गरिहाल्नुपर्ने अवस्था नरहेको एमालेको निष्कर्ष छ।

    नेपाल प्रहरीले रायमाझी खोज्नका लागि पूरै शक्ति लगाएको जनाएको छ । “हामीले पूरै शक्ति परिचालन गरेका छौँ,” प्रहरी स्रोतले भन्यो, “अहिलेसम्म पक्राउ परेका छैनन् । हामीलाई आशा छ उनी छिट्टै पक्राउ पर्नेछन् ।”

    नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग पु¥याएको भन्दै राजनीतिक तहका उच्च अधिकारी मुछिएका छन् । कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण आजै पक्राउ परेका छन् भने रायमाझी खोजीको सूचीमा छन् ।

    यही प्रकरणमा अहिलेसम्म उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहित ११ जना पक्राउ परिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images