
काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएपछि बुधबार उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका थिए । लगत्तै उनलाई प्रहरीले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो ।
‘पक्राउ पूर्जी जारी भएको थाहा भएपछि उहाँ जिल्ला प्रहरी परिसर, काठमाडौंमा हाजिर हुनुभएको हो’, उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी श्यामलाल ज्ञवाली भन्छन्, ‘थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्