काठमाडौं- उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पाण्डेलाई बुधवार पक्राउ गरिएको उच्च स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ ।
तत्कालीन गृह सचिव रहेका पाण्डेको संलग्नता रहेको आशङ्कामा अनुसन्धानमा रहेका पाण्डेलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । पाण्डे २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव रहेका थिए ।
अनुसन्धानको सिलसिलामा मङ्गलवार पक्राउ अनुमति पछि अहिले प्रहरी परिसर काठमाडौँमा रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले प्रशासनलाई बताए । ‘अनुसन्धानको सिलसिलामा अदालतको पक्राउ अनुमति पछि हिजो हामीले उहाँलाई खोजेका थियौँ’ एसएसपी कार्कीले भने, ‘अहिले उहाँ प्रहरी परिसर काठमाडौँमा हुनुहुन्छ ।’
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा सरकारका सचिवकै संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिन्छु भनी ठगेको आरोपमा आइतबार पक्राउ परेकाहरूले सरकारका उच्च अधिकारीहरूकोसमेत संलग्नता रहेको बयान दिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
आरोपीहरूले तत्कालीन गृह सचिव पाण्डे र त्यसअघिका गृहसचिव महेश्वर न्यौपानेको मिलेमतो रहेको बयान दिएका थिए ।






















