
काठमाडौं- नेपाली कांग्रेसका सदस्य तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेस परित्यागको घोषणा गरेका हुन् ।
नेपालको राजनीतिक अवस्था, भ्रष्टाचार र अनाचारको विरोध गर्दै नेपाली कांग्रेसका नेताहरूले शक्तिमा रहँदा पटक पटक अनेक गलत र अपरिपक्व जनविरोधी कार्य गरेको बताएका छन् ।
उनले आफू प्रहरी सेवाको अवकासपश्चात विगत २५ वर्ष देखि नेपाली कांग्रेसको सक्रिय सदस्य र महाधिवेशन प्रतिनिधि समेत भएर प्रतिवद्धताका साथ यथासक्य काम गरेको तर अहिलेको देशको अवस्थामा नेपाली कांग्रेसले लिएका कदमले आफूमा विरक्ति उत्पन्न भएको भन्दै पार्टीबाट मुक्त भएको जनाएका छन् ।
“देश संकटको भूमरीमा परेका वखत समेत नेपाली कांग्रेस मौन छ, त्यसो हुनाले अब यस पार्टीसँगको आवद्धता औचित्यहीन सम्झी आजैका मितिदेखि मैले नेपाली कांग्रेस पार्टी परित्याग गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँछु,” विज्ञप्तिमा भनिएको छ ।
बोहराले उपल्लो तहका नेताले निष्ठावान सदस्यहरूलाई झोले, चप्पलेको रुपमा हेर्ने र व्यवहार गर्ने चलन भएको भन्दै उक्त चलनको आफूले कडा शब्दमा निन्दा गर्दछु भनिएको छ ।
आफूले नेपाली कांग्रेस परित्याग गरेसँगै देशको वर्तमान अवस्थाका बारेमा पनि बोहराले उक्त विज्ञप्तिमा चिन्ता व्यक्त गरेका छन् ।
नेपालमा अहिले ‘लुटको धन फुपुको श्राद्ध’ भन्ने आहान चरितार्थ गरिंदै छ भन्दै जिम्मेवार रहनुपर्ने व्यक्ति र निकायहरू नै गलतकार्यमा संलग्न भैरहेका छन् भन्ने आरोप पनि बोहराले लगाएका छन् ।
“महंगी र असुरक्षा भावले जनतामा फैलिएको असन्तुष्टीले क्रमशः देशव्यापी आक्रोसको आकार लिंदै गएको यथार्थ सबैसामू छ । अब त्यो आक्रोसले भयावह आन्दोलनको रुप लिने त होइन ?,” भन्ने प्रश्न गर्दै उर्लिदो भ्रष्टाचार र आर्थिक अनियमितताले देशलाई गहिरो संकटतिर धकेलिरहेको कुरा आर्थिक तथ्यांङ्क र विज्ञहरूले बताइरहेको तर यसप्रति न त सत्तासीन गठबन्धनका नेताहरू संवेदनशिल देखिएको न त लोकतन्त्रका प्रबल साझेदार कहलिने प्रतिपक्षनै जागरुक रहेको बोहराले टिप्पणी गरेका छन् ।
वर्तमान राजनीतिक विवादको कुरा उठाउँदै बोहराले ‘अयोग्य’ लडाकुहरूलाई बाँड्न भनेर राज्यको ढुकुटीबाट बजेट स्वीकृत भएको र यसका लागि सरकारले कार्यविधिसमेत पारित गरेको समाचार आउँदै गर्दा गठबन्धनमा रहेका नेताहरू गतिहीन र मतिहीन तमासे भएका र त्यसले जनतामा नैराश्यता छाएको पनि उनले बताएका छन् ।
उनले भने “अहिले ‘अयोग्य’ ठहरिएका पूर्व लडाकुहरू पनि नेपाली नागरिक हुन् । उनीहरूलाई सहयोग गर्नु हुँदैन भन्ने मेरो मनसाय कदापि होइन । उनीहरूलाई पनि यथायोग्य रोजगार उपलब्ध गराई दिनु राज्यको जिम्मेवारी भित्रै पर्दछ । तर, प्रत्येकलाई दुई–दुई लाख रुपैयाँ राज्यको ढुकुटीबाट बाँडने निर्णयको विषयमा कांग्रेस कोटाका अर्थमन्त्री पनि पानीमाथिको ओभानो हुन खोजेको घटना अझबढी हास्यास्पद छ । किन दुधको साक्षी बिरालो हुन परेको ?,” उनको भनाइ छ, “नेपालीहरूको घाउमा मल्हम लगाउने प्रयन्त गर्नु त कता हो कता राज्य संयन्त्र हाँकेर बसेका नेताहरू सिधा–साधा जनतालाई भ्रामक कुराहरूमा पारी झुक्याउने र तिनकै नाममा राज्यकोष दोहन गर्ने कार्यमा निर्लिप्त छन् ।”
बोहरा कांग्रेसको १४ औँ महाधिवेशनमा अछाम क्षेत्र नम्बर १ बाट ३४१ मतसहित प्रतिनिधिमा विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस्