दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिश्वासको मत पाएका छन्। वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज विश्वासको मत लिएका हुन्।
आज प्रदेशसभाको बैठकमा बिश्वासको मत मागेका चौधरीलाई ५३ सांसदले मत दिएका छन् भने विपक्षमा २९ मत खसेको छ ।
कांग्रेसका तर्फबाट मुख्यमन्त्री भएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
एमालेका २९ सांसदले विपक्षमा मतदान गरेका थिए । राप्रपाका चार सांसदले भने मतदान गरेनन् ।
कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमत संख्या ४४ हो। गत १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले १५ गते सपथ लिएका थिए।
उनि संविधानको धारा १६८ (२) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका हुन्। गत पुस २७ गते माओवादी सहित दलहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त एमालेका लीला गिरीलाई दिएको समर्थन २५ सांसदले फिर्ता लिएपछि गिरीले गत ११ गते संसदमा बिश्वासको मत मागेका थिए।
तर उनले बिश्वासको मत नपाएपछि प्रदेश प्रमुख अमिक शेरचनले १६८ (२) अन्तर्गत नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। वर्तमान गठबन्धनमा ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका हुन्।


विश्व खबर 


















