images
images
  • सात वर्षदेखि आयात मात्र भइरहेको तातोपानी नाका दुईतर्फी खुला

    सामान आयात निर्यात सुरु

    काठमाडौं- सिन्धुपाल्चोकस्थित चीनसँग जोडिएको तातोपानी नाका सोमबारदेखि दुईतर्फी सञ्चालनमा आएको छ। चीन सहमत भएसँगै यो नाकाबाट पनि रसुवागढीपछि दुइतर्फी आयात निर्यात सुरु भएको हो।

    सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए।

    गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि यो नाकालाई २०७२ को भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको थियो।  उक्त सहमतिअनुसार नै नेपाल र चीन दुवैतर्फबाट यो नाकाबाट आयात निर्यात खुल्ला भएको हो।

    ०७२ को विनाशकारी भूकम्प गएको सात वर्षदेखि आयात मात्र भइरहेको भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट मुढासहित अन्य हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको छ ।

    यसअघि यो नाका चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा आएको थियो। अब २०७२ अघि जस्तै नेपालबाट पनि सामग्री लैजान थालिएको हो।

    नेपाल-चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकको सहमतिअनुसार अनुसार तातोपानी नाकाबाट भूकम्पअघिकै अवस्थामा दुईतर्फी व्यापार र नागरिकको आवतजावत सुचारु गरिएको हो।

    तर दु्वैतर्फ अध्यागमन कार्यालय व्यवस्थित हुन अझै समय लाग्ने बताइएको छ। मजदुर दिवसमा चीनमा पाँच दिन बिदा र नेपालतर्फ अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापनमा समय लागेकोले मानिस आवतजावत गर्न अझै केही समय लाग्ने जनाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images