images
images
  • लुटपाटको उद्देश्यले निराको हत्या, एक सातासम्म काठमाडौंमै बसेका थिए बिनोद

    १८ पटक  हतियार प्रहार

    काठमाडौं- चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको प्रहरीले बताएको छ।

    आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गरेको पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएका हुन्।

    हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो। उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ।

    निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११/१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले बताए।

    बिकले लुटेको सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पनि आचार्यले जानकारी दिए।

    मृतक निरा आचार्य सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन्। त्यहाँ वैशाख ७ गते दिउँसो पौने ३ बजे र सवा ३ बजे बीचमा हत्या भएको थियो।

    साढे ३ बजेतिर शव फेला परेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। निरामाथि कम्तिमा पनि १८ पटक धारिलो हतियार प्रहार भएको थियो।

    लुटेको सिक्री बेचेर मोबाइल किने, चक्कु मनोहरामा फ्याँके
    नीरा पाण्डेको हत्यामा प्रयोग गरिएको चक्कु मनोहरा खोलामा फ्याकेको बयान विनोद विकले दिएका छन्।  झापाको धुलाबारी–१० घर भएका उनी वैशाख ७ गते दिउँसो निरुको ज्यान लिएपछि वैशाख १४ गतेसम्म काठमाडौंमै थिए।

    तत्कालै भागेर भारततिर जान खोज्दा नाकामा समात्न सक्ने भएकाले आफू एक सातासम्म काठमाडौंमै बसेको बयान विकले प्रहरीलाई दिएका छन्।

    निरुबाट लुटिएको करिब सुन बेचेपछि मात्रै उनी वैशाख १४ मा झापातिर लागेका थिए।  उनी झापा पुगेपछि विर्तामोडस्थित इलाम बसपार्कमा रहेको एक होटलमा बसेका थिए। तर प्रहरीले उनलाई त्यहीँबाट शनिबार राति १० बजे पक्राउ गरेको छ।

    ’प्रहरीले तत्काल नाकामा पक्रेला भनेर पछि गएको हुँ’, उनले बयानमा भनेका छन्, ’काठमाडौंमै बस्दा प्रहरी नाकामा निष्क्रिय भएपछि उता जाने योजना थियो।’

    ठमेलस्थित बाउन्सरको जागिर पनि गएपछि उनी बेरोजगार थिए। त्यहीकारण उनी वैशाख सुरुदेखि नै भक्तपुरको लोकन्थलीस्थित साथीको कोठामा बसिरहेका थिए।

    केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनले आर्थिक अभाव भएपछि चलाउँदै गरेको मोबाइल फोन पनि बेचेका थिए। तर निरुबाट लुटेको करिब एक तोलाको सिक्री ५५ हजारमा बेचेर उनले १० हजारको नयाँ मोबाइल फोन किनेका थिए।

    प्रहरीका अनुसार निरुको हत्याका क्रममा रगत लागेको सर्ट लोकन्थलीस्थित साथीको घरमा भेटिएको छ। उता हत्यामा प्रयोग गरिएको चक्कु भने उनले मनोहरा खोलामा लगेर फालेको बयान प्रहरीलाई दिएका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images