पछिल्लो तीन बर्षमा रोजगारीका लागि नेपाल आउने विदेशी नागरिकहरु ह्वातै बढेर गएको छ । नेपालका विकास साझेदारको लगानीमा परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या बढेको हो ।
नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिने विदेशीको संख्या वृद्धि भएर १ हजार ७७४ पुगेको छ । अघिल्लो वर्ष नवीकरण र नयाँ गरेर १ हजार ५७६ ले नेपालमा काम गर्न अनुमति लिएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालका काम गर्ने चाहना राखेर श्रम स्वीकृति लिने विदेशीको संख्या १२ प्रतिशतले बढेको हो । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार गत वर्षत्यस्ता विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको हो ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि करिव एक सय देशका नागरिकलेश्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँँ नागरिक छन् । विभागका निर्देशक मणिनाथ गोपले नेपालमा सञ्चालन भइरहेका ठूला चिनियाँ परियोजनामा धेरै चिनियाँ नागरिक आउने गरेको बताए । उनले नयाँ भन्दा पनि ५ देखि७ वर्षसम्म सञ्चालन हुने परियोजनामा काम गर्ने प्राविधिकहरुले श्रम स्वीकृति नविकरण गराउने गरेको जानकारी दिए ।
श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न धेरै विदेशीले विभागबाट श्रम स्वीकृति लिने गरेका छन् । रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा उच्च प्राविधिक कामदार विदेशीले श्रम स्वीकृति लिएर काम गर्ने गरेका छन्निर्देशक गोपले कोभिड संकटका बेला नयाँ श्रम स्वीकृति लिने विदेशीको संख्या केही कमी आएपनि नविकरण गर्नेको संख्या हाल बढेको बताए ।
विदेशी नागरिकको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेपनि नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौता बमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत नेपाल आउने गरेका छन् । यसले गर्दा दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिकसमेत नेपालमा आई काम गर्दा विदेशी लगानीका आयोजनाबाट अर्बौं रुपैयाँ विदेश जाने गरेको छ ।
नेपालमा उपलब्ध नेपाली श्रमिकलाई प्राथमिकता दिई नेपाली श्रम बजारमा उपलब्ध हुन नसकेका दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई मात्र श्रम स्वकिृति दिनुपर्ने विज्ञको सुझाव छ । नेपालमा उपलब्ध हुन नसक्ने दक्ष विदेशी कामदारलाई मात्र श्रम स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय र विभागको सिफारिस एंव गृह मन्त्रालयको कार्यसहमतिको आधारमा श्रम स्वीकृति प्रक्रिया मिलाउनुपर्ने नीतिगत सुधारको आवश्यकता रहेको छ । श्रम ऐनले कुटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको कुनै सन्धि वा सम्झौताले श्रम स्वीकृति लिन नपर्ने उल्लेख भएको अवस्थामा बाहेक विभागबाट श्रम इजाजत नलिई कुनै विदेशीलाई काममा लगाउन पाइँदैन ।
नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार माघसम्म सो संख्याका विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको हो । कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको भएपनि पछिल्लो वर्ष बढदै गएरहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विभागका निर्देशक गोपले आर्थिक वर्षको शुरुमा श्रम स्वीकृति लिने विदेशी श्रमिक घटेको देखिएपनि क्रमशःबढेको बताए ।
विदेशीले काम गर्ने कतिपय परियोजनाले नेपाली श्रमिकलाई मात्र कटौती गरी विदेशी श्रमिकहरु यथावत राख्ने गरेको भएपनि सोको अनुगमन भने हुन सकेको छैन । नेपाली श्रमिकलाई प्राथमिकता दिई नेपाली श्रम बजारमा उपलब्ध हुन नसकेका दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई मात्र श्रम स्वकिृति दिनुपर्ने विज्ञको सुझाव छ । त्यसैगरी एकै प्रकृतिको कामका लागि श्रमस्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम रहेको छ ।























