images
images
  • सोच, खोज र भविष्य

    –अर्जुनकुमार श्रेष्ठ, पूर्वउपाध्यक्ष एनआरएनए 

    बाँच्नका लागि भए पनि मान्छेले कर्म त गर्नैपर्छ । तर त्यो ‘बाँच्नु’ केवल आफ्ना लागि मात्र नहोस् भन्ने मूल हेतु नै मेरो जीवनको र खासगरी व्यावसायिक जीवनको खोज, सोच र भविष्य हो । नेपालका औषधी व्यवसायमा मानवीय सेवाको भाव कम ज्यादा व्यापारीकरणको स्थिति देखिन्छ । मेरो मूल उद्देश्य व्यापारीकरणभन्दा पनि सर्वसुलभ रूपमा आम उपभोक्ताले सेवा प्राप्त गर्न सकून् भन्ने हो । यसो भनिरहँदा मैले व्यापार नगरी केवल मानव सेवा मात्र गर्दछु भन्ने महङ्खवकाङ्क्षालाई मात्र देखाएको छैन । सेवा पनि आम उपभोक्ताका बिचबाट उनीहरूको स्तर, क्षमता र आवश्यकतालाई सम्बोधन गर्ने गरी हुनु आवश्यक छ भन्ने मेरो निष्कर्ष हो । स्वच्छ प्रतिस्पर्धा र गुणस्तरीय सेवा संस्थाको खास उद्देश्य हो ।

    बजार र औषधी उत्पादकका बिचमा एउटा असमान खाडल छ; जसलाई पुर्न नसक्दा उपभोक्ता चरम मारमा परेका छन् । यो मेरो अध्ययन र बुझाइ हो । जसलाई आम उपभोक्ताले बुझ्न सकिरहेका छैनन् । जसलाई बुझाउने संयन्त्रको विकास अझ पनि हुनुपर्ने गतिमा भएको छैन । व्यावसायिकहरूले उत्पादन गरेका औषधीमा जुन मूल्य निर्धारण गरेर बजार पठाइन्छ त्यसमा कयौँ गुणा मूल्य बढाएर औषधी प्रदायक रिटेलर वा साधारण भाषामा औषधी पसलेले एम.आर.पी. निर्धारण गर्दछ । अर्को रिटेलरले कहिल्यै औषधी उधारो दिँदैन अर्थात् नगदमा कारोबार गर्छ । जबकि कम्पनिले बेचेको औषधीको पैसा महिनौँपछि प्राप्त गर्छ । यस किसिमको असमान स्थिति जसको प्रत्यक्ष–परोक्ष मारमा उपभोक्ता परेका छन् । जसलाई नियन्त्रण गर्ने संयन्त्र कमजोर छ ।

    औषधी उत्पादकले जुन लागतमा औषधी तयार गर्छ; त्यसलाई उपभोक्ताका बिचमा सोहीअनुकूल हुने गरी पु¥याउनु आवश्यक छ । कम लागतमा उत्पादित औषधीको उपभोग मूल्य महँगो हुँदा उपभोक्तामा सास्ती हुनु स्वाभाविक हो । एउटा संरचनाले मात्र स्वास्थ्य क्षेत्रमा देखिएका कमीकमजोरीलाई न्यूनीकरण गर्न सकिँदैन । अचेत परिस्थितिलाई सचेत बनाउने दायित्व आम सरोकारवालाको हो । यसका निम्ति ग्राउन्ड लेभलबाटै पहलकदमी हुनु आवश्यक छ । चिकित्सक, फार्मेसिस्ट, क्रेता–विक्रेता, उत्पादक, सरकार तथा अन्य सरोकारवाला संयन्त्रका बिचमा हुने आपसी समझदारी नै औषधी क्षेत्रमा देखिएका कमीकमजोरीको समाधान हो ।

    वास्तवमा ओम मेगाश्रीको ध्येय पनि यही कमजोरीको उचित समाधान हो । हामी शतप्रतिशत समाधान गर्छौं भनेर दाबी गर्दैनौं । स्वस्थ प्रतिस्पर्धाबाट स्थापित कम्पनीले काम पनि गर्छ र सेवासँगै आफ्नो लगानीलाई पनि सुरक्षित गर्छ भन्ने विश्वास हो । विश्वास कम्पनीको श्वास हो । श्वासप्रश्वासमा विश्वासको लगाम लगाउन औषधी उत्पादन प्रक्रियाको पारदर्शिता र जवाफदेहिता महत्त्वपूर्ण औजार हुन् र हुने छन् । हामी हाम्रो व्यवसायमा पारदर्शिता चाहन्छौँ । पारदर्शिता नै हामीलाई स्थापित गर्ने आधार स्तम्भ हो । जसलाई ‘ग्राउन्ड लेभल’बाटै बुझाउन र बुझ्न आवश्यक देखिन्छ । सरकारको नीतिगत व्यवस्थाले कुनै पनि अत्यावश्यक औषधीमा उत्पादनको बिस प्रतिशत नबढ्ने गरी नाफा कायम गर्न भनेको छ । यद्यपि दुई सय प्रतिशतको स्थ्तििमा पुग्दा पनि हामी औषधी उपभोग गर्न बाध्य छौँ । यस किसिमको ‘खाए खा नखाए घिच्’ भन्ने लोकोक्तिलाई हामी अन्त्य गर्ने प्रयासमा छौँ ।

    ०००

    सैद्धान्तिक भाष्य निर्माण गरेर यसबारे अनेकौँ व्याख्या गर्नु हाम्रो ध्येय होइन । मेरो नेतृत्व र समग्र मैले बुझेको औषधी व्यवसायले सैद्धान्तिक भाष्यलाई जीवनोपयोगी एवम् व्यवहारिक सन्दर्भमा रूपमान्तरण गर्ने कोसिस गर्ने छ । हाम्रो उत्पादनको अन्तिम प्रयोग उपभोक्ता हुने हुँदा उपभोक्तामा उत्पादनप्रतिको विश्वासलाई दिगो बनाउन र त्यसमा अपनत्वभाव विकास गराउन हामीले पहिलोपटक औषधी व्यवसायलाई ‘पब्लिक’ सम्पत्तिका रूपमा विकास गराउने लक्ष्य लिएका छौँ । निकट समयमै ओम मेगाश्रीले आवश्यक प्रक्रियाद्वारा ‘आइपिओ’ जारी गर्ने छ । प्राइभेटको घेराबाट पब्लिक बनेपछि स्वाभावैले यसमा आम सरोकारवालाको चासो हुने छ । जीवनमा अपनत्व सबैभन्दा महत्त्वपूर्ण कुरा रहेछ । अपनत्व हुनु भनेको स्थायीत्व प्राप्त गर्नु हो । दिगो हुनु हो । जब औषधी व्यवसायमा उपभोक्ताको अपनत्व हुने छ त्यसले समग्रमा औषधी व्यवसायलाई नै दिगो बनाउने छ ।

    प्रत्यक्ष–परोक्ष सेवा पनि हुने र सेवासँगै मेवा पनि हुने । खोक्रो सेवाको नाराले क्षणिक आनन्द त लिन सकिएला तर समय क्रममा चल्नु र चलिरहनु महत्त्वपूर्ण कुरा हो । यसर्थ यसलाई दीर्घकालसम्म स्थापित गराउन ‘हामी र हाम्रो’ भावको विकास गराउनु आवश्यक ठानेका छौं । यसैको स्वच्छ र स्वस्थ अभ्यास ओम मेगाश्री फार्मास्युटिकल्सको आइपिओ निष्काशन हो । एकातर्पm आवश्यकताअनुसार वस्तुको उपभोग पनि हुने र अर्कोतर्पm उपभोगमा खर्चिएको रकमको लाभांश स्वयम्का लागि पनि प्राप्त हुने हुँदा आइपिओ निष्काशन र जनसहभागिता एकअर्काका सारथि बन्ने छ भन्ने विश्वास लिएको छु ।

    ०००

    औषधी बजारको डरलाग्दो वर्तमान अभ्यासलाई आम उपभोक्ताले बुझ्न आवश्यक छ । जुन अभ्यासलाई म साधारण भाषामा बाँडन् चाहन्छु ।

    साक्षर–निरक्षर सबैमा औषधी प्रयोग अनिवार्य र अपरिहार्य शर्त हो । बिरामी भएपछि मान्छे जसरी भए पनि उपचार गर्न लाग्छ । अन्तिम प्रयाससम्ममा चुक्दैन । ऋण खोजेरै भए पनि ज्यान बचाउनु पहिलो कर्तव्य हुन्छ । यही परिप्रेक्ष्यलाई राम्रोसँग बुझेका औषधीका बजारियाहरूले यसलाई पैसा कमाउने खास धन्दा बनाइरहेका छन् । गाँस, बास, कपासको आधारभूत आवश्यकतालाई पूरा गर्न द्यौ–द्यौ परिरहेको सन्दर्भमा महँगो औषधी सेवन गर्नुपर्ने, दीर्घकालसम्म नै औषधीको सहारामा बाँच्नुपर्ने स्थितिमा जोकोहीलाई औषधी प्रयोग दुसाध्य र कष्टकर बन्नु स्वाभाविक हुन्छ ।

    औषधीको समीकरण वा फर्मुला सबैले बुझ्न सक्ने विषय होइन । कुन औषधीको उपभोग कसरी र कति मात्रामा गर्ने भन्ने कुरा सम्बन्धित क्षेत्रका चिकित्सक वा फार्मेसिस्टबाट तय हुन्छ । अझ भनौँ चिकित्सकको सिफारिसका आधारमा हामी औषधी सेवन गर्छौं । जुन औषधी सिफारिसको लिस्टमा पर्छ त्यही औषधी खरिद गर्नुको विकल्प हामीसँग रहँदैन । औषधी होइन हामीले कम्पनी खरिद गर्नुपर्ने हुन्छ । जसको सिधा सम्पर्क औषधीका नाममा बजारीकरणको चाबी बोकेकासँग रहन्छ । हामीसँग एउटा कम्पनीको विकल्प अर्को कम्पनी पनि रहन्छ भन्ने ज्ञान नहुँदासम्म खोजी–खोजी सिफारिसमा परेको औषधी नै किन्न विवश हुन्छौं । बजार त्यही गर्छ; जसले उसलाई छोटो समयमै उन्नती पथमा लैजान्छ । बजारको निर्धारण गुणस्तरसँग होइन बिक्री कति भयो भन्ने आधारबाट तय भइरहेको छ । जुन औषधीले बिक्री दर उच्च बनाउँछ त्यसैलाई हामी खास ठानिरहेका हुन्छौँ । यसर्थ मेरो आग्रह वा बुझाइ गुणस्तरतामा ध्यान दिऔँ भन्ने हो ।

    औषधी पसलेले त जसले बढी मार्जिन दिन्छ त्यसैलाई अब्बल ट्याग लगाइदिन्छ । जुन कुरा उपभोक्ताले बुझेका हुँदैनन् । अपर्भmट अवस्थामा औषधी खरिद गर्न गएको व्यक्ति औषधीको गुणस्तरतामा प्रश्न–प्रतिप्रश्न गरेर बस्दैन । उसलाई छिटोभन्दा छिटो सम्बन्धित औषधी किनेर बिरामी बचाउनुपर्ने स्थिति सिर्जना भएको हुन्छ । जसले गर्दा ऊ औषधीको वास्तविकतातर्पm गम्भीर हुन भ्याउँदैन । यही क्रम हिजोदेखि आजसम्म निरन्तरता पाइरहेको छ । उसो भए यस समस्याबाट आम उपभोक्ता कसरी मुक्त हुन सक्छन् त ?

    लामो समय स्वदेश तथा विदेशका औषधी व्यवसाय र यसको उत्पादन–उपभोगसँग प्रत्यक्ष–परोक्ष सम्बन्ध स्थापित गरेर आइरहँदा हामी औषधीसँगको आत्मनिर्भरता कसरी कायम गर्न सकिन्छ भन्ने कुराबाटै अघि बढ्नुपर्ने हुन्छ । धेरै सन्दर्भ माथिका पङ्क्तिमा पनि आइसकेका छन् । सारमा उपभोक्ताको सचेतना अभिवृद्धि नै समस्याको मूल समाधान हो । राज्य विकासका आधारमध्येको महत्त्वपूर्ण आधार मानिने स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र कम मूल्यमा उपभोक्तासामु पु¥याउनका लागि राज्य संयन्त्र प्रभावकारी बनाउनु र बन्नको विकल्प छैन । यसका लागि राज्यलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हो; कर्तव्य हो ।

    औषधी उत्पादन, बजार संयन्त्र, प्रयोग स्थिति आदिको वस्तुयथार्थलाई गहिराइबाटै समीक्षा गरिनु अपरिहार्य छ । यसका लागि निश्चित संयन्त्रको विकास गरिएको छ । बजार नीति र प्रवृत्तिबारे उपभोक्तालाई यथेष्ट जानकारी दिनु, उत्पादन–वितरण र उपभोग संयन्त्रबारे अभिमुखकीकरण गर्नु तथा औषधीको ‘जेनेरिक’ अवस्थाबारे बुझाउनु लक्ष्यमा पुग्ने खास टुल्स अर्थात् साधन हुन् । म र मेरो नेतृत्वले यिनै टुल्समाथि सोच, खोज र भविष्यको रेखाङ्कन गरिरहेको छ ।

    यो मेरो स्मृति मात्र होइन वर्तमान पनि हो र भविष्य पनि । मलाई विगतले दिएका पाठहरू, वर्तमानका पानाहरूमा रूपान्तरण गरेर भविष्यको इन्जिनियरिङ गर्नु छ । जसको फल मेरा शुभचिन्तक–पाठकका लागि पनि स्वादिला बनून् ।

    ०००

    (एनआरएनएका पूर्व ग्लोबल उपाध्यक्ष श्रेष्ठ नेपाली स्वास्थ्य तथा फार्मा इतिहासमा नेपाल धितोपत्र बोर्डबाट आइपियो निष्काशन अनुमति पाई शेयर बजार कारोबारमा आउन सफल पहिलो कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष हुनुहुन्छ । उपर्युक्त लेख श्रेष्ठद्वारा लिखित ‘अर्जुनदृष्टि’ पुस्तकबाट साभार गरिएको हो – सम्पादक ।)

    प्रतिक्रिया दिनुहोस्
    images
    images