काठमाडौं- बैशाख १ गतेदेखि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले नयाँ वर्षदेखि ब्याजदर घटाउने तय गरेका हुन् ।
नेपाल बैंकर्स संघले ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो ।
निर्णयअनुसार वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ९.९९ प्रतिशत हुनेछ । संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने २ प्रतिशत कम तथा ७.९९ प्रतिशत कायम हुने बताइएको छ ।
हाल मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११ प्रतिशत छ । पछिल्लोपटक यस्तो ब्याजदर १० प्रतिशतभन्दा कम बनाउनुपर्ने माग उठेको थियो ।
कर्जाको ब्याजदर पनि घटेर आउने
अब कर्जाको ब्याजदर पनि केही सस्तिने अवस्था छ । माघदेखि चैतसम्म घटेको निक्षेपको ब्याजदरको आधारमा बेस रेट जति घट्छ सोही अनुपातमा १ वैशाखदेखि कर्जाको ब्याजदर घट्ने छ ।
तर, आगामी १ वैशाखदेखि निक्षेपको ब्याजदर घटे पनि यसको प्रभावअनुसार कर्जाको ब्याजदर घट्न भने साउनसम्म कुर्नुपर्ने छ ।
राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर बीचको औसत अन्तर ४।४ प्रतिशतबाट चैतमा ४।२ प्रतिशत हुँदै असारमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकाले यसलाई समायोजन गर्न पनि बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्ने हुन्छ ।


विश्व खबर 



















