काठमाडौ- मिटरब्याज पीडितहरूसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ। समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ ।
समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।
बैठकअघि पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरिएको छ।
वार्ता टोलीले मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको छ।
सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसद्मा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ। उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ।
बर्दिबासदेखि ११ दिन हिँडेर आइतबार बिहान काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरूलाई महानगरपालिकाले रोक लगाएपछि रत्नपार्कको सडक पेटीमै बास बसेका थिए ।
मिटर ब्याजपीडितहरूले कष्टपूर्ण संघर्षसहितको आन्दोलन थालेपछि सरकारले आवश्यक पहल थालेको छ ।























