images
images
  • नेपालमा बस्छन् १ लाख ३२ हजार ७८१ भारतीय नागरिक

    काठमाडौं- नेपालमा अक्सर बसोबास गर्ने व्यक्तिमध्ये १ लाख ३७ हजार ४०७ जना विदेशी नागरिक रहेको पाइएको छ ।

    राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने कुल नागरिकमध्ये ९९.५३ प्रतिशतले आफूलाई नेपाली नागरिकका रुपमा चिनाएका छन् । बाँकी व्यक्तिले भने आफूलाई विदेशी नागरिकका रुपमा चिनाएका छन् ।

    तथ्यांक अनुसार यसरी विदेशी नागरिकका रुपमा आफूलाई चिनाउनेमा भारतीय नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ । नेपालमा अक्सर बसोबास गर्ने भारतीयको संख्या १ लाख ३२ हजार ७८१ जना रहेको छ ।

    तथ्यांक अनुसार नगरपालिका क्षेत्रमा १ लाख ९ हजार ९०४ जना भारतीय बसोबास गर्छन् । गाउँपालिकामा भने २२ हजार ८७७ जना रहेका छन् ।

    भौगौलिक क्षेत्र अनुसार हिमालमा २१ सय १९ जना भारतीय बसोबास गर्छन् । पहाडमा ५४ हजार ८३९ र तराईमा ७५ हजार ८२३ जना भारतीय नागरिक बसोबास गर्ने गरेको पाइएको छ । भारतीय नागरिक सबैभन्दा धेरै बागमती प्रदेशमा ४८ हजार ३६१ जना बसोबास गरेका छन् । सबैभन्दा कम कर्णालीमा ६९१ जना रहेका छन् ।

    तथ्यांक अनुसार चिनियाँ नागरिकको संख्या १ हजार ८८२ जना रहेको छ । भारतबाहेक सार्क मुलुकका नागरिक ५८० जना अक्सर नेपालमा बस्ने गरी विवरण टिपाएका छन् ।

    भारत, सार्क र चिनियाँबाहेक अन्य मुलुकका नागरिकको संख्या १ हजार ९७५ जना रहेको समेत तथ्यांकमा उल्लेख छ । आफूलाई कुनै पनि मुलुकको भनी नचिनाएका व्यक्तिको संख्या १८९ जना रहेको छ ।कार्यालयका अनुसार जुन व्यक्तिले आफुलाई जुन देशको नागरिक भनी टिपायो, यो विवरण सोही अनुसार आएको हो ।

    कार्यालयले अक्सर बसोबास गर्ने अवधि कम्तीमा ६ महिनालाई मानेर विवरण संकलन गरेको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images