काठमाडौं- साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ।
आईतवार नेप्सेपरिसूचक २६.८५ अंक घटेर १८८८.२७ बिन्दुमा झरेको छ। पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा उतारचढाव आइरहेको छ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.०१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंकले घटेको छ।
आइतबार २५९ धितोपत्रको ३२ हजार १६८ वटा कारोबारबाट ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको भएको छ । गत बिहीबार भने १ अर्ब ४१ करोड ३२ लाखको कारोबार भएको थियो ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक ४.७७ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त ३.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन र व्यापार २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त,बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से परिसूचक घटेपनि माया खोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, कालिञ्चोक दर्शनको शेयरमूल्य ६ प्रतिशत बढेको छ। तर यता जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आईतवार हिमालयन डिष्टिलरी कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।


विश्व खबर 



















