
पोखरा- नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सेनाका बारेमा गरिने अनर्गल प्रचारमा नलाग्न आग्रह गरेका छन् । समय समयमा कसैको इशारामा बाहिरी व्यक्तिबाट नेपाली सेनाको संख्याका बारेमा टिप्पणी हुने गरेको उनले बताए।
उनले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट भइरहेको अनर्गल प्रचारबाट टाढा रहन आग्रह गर्दै नेपाली सेनाबारे बुझ्न परे आधिकारिक वेबसाइट, नेपाल सरकारका निर्देशन अध्ययन गर्न सुझाएका छन्।
पोखरामा बिहीबार भूतपूर्व सेनाका सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले सेनाको भने,‘संख्या यति हुनुपर्छ,उति हुनुपर्छ,र यस्तो साइज हुनुपर्छ,राइट साइजिङ हुनुपर्छ र अन्य नचाहिँदो नचाहिँदो किसिमका कुराहरू पनि हुने गरेको छ । यसलाई प्रकाशित गर्ने गरेको पनि पाइएको छ,’ यो हेर्दा हाँस्यास्पद हो ।’
सेनाको संख्या निर्धारण गर्ने काम नेपाल सरकारको भएको शर्माले बताए । ‘आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ न कि कुनै आइएनजीओ र एनजीओमा बसेर आफै स्वघोषित डाक्टर, स्वघोषित विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले गर्ने होइन,’उनले भने।’
‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको संविधान प्रद्दत्त जिम्मेवारी हो,त्यसका साथै विकास निर्माण, पर्यावरण संरक्षण तथा बिशुद्ध शान्ति स्थापना र व्यवस्थापनलगायत नेपाली जनतालाई आवश्यक परेका अन्य कुराहरूमा सहयोग गर्ने जिम्मेवारीहरू साथसाथै नेपाल सरकारबाट तोकिएका विभिन्न कार्यहरू गर्नु नै हामीले आफ्नो जिम्मेवारी हो भन्ने गरेका छौं,’ उनले भने, ‘यिनै जिम्मेवारी पूरा गर्न नेपाली सेना कटिबद्ध छ ।’
उनले नेपाली सेनाले देशको अर्थतन्त्रमा ठूलो योगदानसहित कल्याणकारी काम गरेको जिकिर पनि गरे। अहिले नेपाली सेनाको कल्याणकारी कोषमा ७३ अर्ब रुपैयाँ रहेको र त्यसको ब्याजबाट प्राप्त १३ करोड ३७ लाख रुपैयाँ कल्याणकारी काममा खर्च हुने गरेको बताए।
नेपाली सेनाले शान्ति सेनामा गएर नेपालभित्र वर्षको २२ करोड अमेरिकी डलर तथा वायु सेवा निगम प्रयोग गरी वार्षिक २ देखि ३ करोड अमेरिकी डलर विदेशी मुद्रा भित्र्याएर नेपालको अर्थतन्त्रलाई सहयोग गरेको दाबी गरे।
उनले सेनाले मेडिकल कलेज तथा यसवर्षबाट इञ्जिनियरिङ कलेज सञ्चालन गर्न लागेको जानकारी पनि दिए।
फूलबारी ब्यारेकमा आयोजित सम्मेलन तथा स्वास्थ्य शिविरमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने ३ हजार ८९४ भूपू सैनिक सहभागी भएको सेनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्