जनकपुरधाम- पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय सुनाइएको छ ।
जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैद र ५/५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको छ । त्यो रकम पीडित परिवारलाई दिनुपर्ने अदालतको आदेश छ।
त्यस्तै हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको हो । उनीहरूले अदालतले तोकेको रकम बुझाउन नसकेमा राज्यकोषबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश गरेको छ।
जिल्ला अदालत धनुषाका इजलास नम्बर ६ का न्यायाधीश चित्रबहादुर गुरुङले फैसला सुनाएको इजलास अधिकृत विष्णु भट्टराईले जानकारी दिइन् ।
अवैध उत्खनन रोक्न खोज्दा दिलीपको हत्या गरिएको थियो। त्यसमा संलग्न रहेको अभियोग लागेका सात जनामध्ये तीन जनालाई दोषी ठहर गरिएको थियो भने चार जनालाई सफाइ दिइएको थियो। दोषी ठहर भएका तीनलाई आज सजाय निर्धारण गरिएको हो।
२०७६ पुस २५ मा खोलाको अवैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय महतोको क्रसर डनले हत्या गरेका थिए। दिलीपलाई कोखमा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्मम हत्या गरिएको थियो।
दिलीपको हत्यापश्चात् एक महिनाको अनुसन्धान पछि जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। उद्योग सञ्चालक विपिन लगायतले उनलाई फलामको लिभर र पेचकसले क्रूरतापूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको थियो। अभियोग पत्रमा दिलीपलाई यातना दिई क्रुरतापूर्वक हत्या गरेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको थियो।
दिलीपका बुबा रामजीवनले मनसायपूर्वक हत्या गरेको भन्दै चुरिया माई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिन कुमार महतो, उनका दाइ विनोद कुमार महतो र उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादव विरुद्ध मुद्दा दायर गरेको थियो।
उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरु मुनिन्द्र र जितेन्द यसअघि नै जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको आदेशमा मुद्दाको फैसला नहोउन्जेलसम्म कारागारमा छन्। विनोद, रोशन, सत्यनारायण र शत्रुधनले भने मुद्दामा सफाइ पाएका छन्।
उनीहरू चार जना यसअघि नै धरौटीमा छुटिसकेका थिए।


विश्व खबर 




















