images
images
  • ठेक्का अलपत्र पार्ने ५ निर्माण कम्पनी कालोसूचीमा

    काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिने तर काम नगर्ने ५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायहरुले कालोसूचीमा राख्‍न गरेको सिफारिसका आधारमा ५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ।

    ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ ।

    कालोसूचीमा राखिएका कम्पनीहरुमा इन्जिनियर्स कन्स्ट्रक्सन एण्ड माइन्ड क्राफ्ट, मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन, गुण निर्माण सेवा, जय गढीमाई निर्माण कन्स्ट्रक्सन र कल्पना कन्स्ट्रक्सन छन्।

    खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर–४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । विकास श्रेष्ठ सञ्चालक रहेको यो कम्पनीले चितवनको इच्छाकामना गाउँपालिकाको ठेक्का अलपत्र पारेको थियो ।

    चितवनको खैरहनी नगरपालिकाको सिफारिसमा जय गढीमाई निर्माण कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखिएको छ । सीताराम चौधरी मुख्य सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

    करणकुमार मुडभरी सञ्चालक रहेको मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि दुई वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीले रसुवागढी हाइड्रोपावर कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार काम नगरेको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

    त्यसैगरी, सुदूरपश्चिम विद्यालयअन्तर्गतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलालीको काम अलपत्र पार्ने गुण निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ । गुणराज पाठक सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

    बारबर्दिया नगरपालिकाको कार्यालय बर्दियाले कल्पना कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको उक्त कम्पनीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

    कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैनन्’, खरिद अनुगमन कार्यालयले सूचनामा भनेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images