काठमाडौं- नेपाल वायुसेवा निगमले बम्बे-काठमाडौं तर्फको यात्रु अकुपेन्सी घटेसँगै प्रमोसनल फेयर जारी गरेको छ। यस अन्तर्गत निगमले मुम्बई(काठमाडौं एकतर्फी सुरुवाती भाडादर १९ सय रुपैयाँ निर्धारण गरेको प्रवक्ता अर्चना खड्काले बताइन्।
‘यो सेक्टरमा टिकट माग नै कम भयो। उताबाट आउने यात्रु घटेपछि हामीले प्रमोसनल फेयर जारी गरेका हौं,’ प्रवक्ता खड्काले भनिन्,’आउँदो मार्चसम्मका लागि यो योजना लागू हुनेछ। यात्रुलाई आकर्षण गर्ने नै मुख्य उद्देश्य हो।’
हाल साताको तीनवटा उडान हुँदै आएको यो गन्तव्यका लागि जारी गरेको यो योजनाअन्तर्गत सिट सीमीत रहेको उनले जानकारी दिइन्। हाल निगमले भारत, कतार, मलेसिया, दुबई, साउदी अरेबिया, जापान लगायत गन्तव्यमा एयरबसका चार जहाजमार्फत नियमित उडान सेवा दिँदै आएको छ।
निगमले भारतमा दिल्ली, बैंगलोर र मुम्बईतर्फ नियमित उडान सेवा दिँदै आएको छ। यसैगरी निगमले यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै शुक्रबारबाट आफ्नो काउन्टर विहान ९ देखि राति ८ बजेसम्म संचालन गर्ने जनाएको छ।


विश्व खबर 



















